यस्तो बन्ने छ समाजवादी मोर्चा, घोषणा दिउँसो ४ बजे

सत्तारूढ नेकपा (माओवादी केन्द्र) लगायतका राजनीतिक दलले आज समाजवादी मोर्चा घोषणा गर्ने भएका छन्। मोर्चाको अवधारणासमेत तयार भएको उनीहरूले जानकारी दिएका छन्।

मोर्चा घोषणाका लागि राष्ट्रियसभा गृहमा अपराह्न ४ बजेका लागि कार्यक्रम तय गरिएको छ। यसअघि ३ बजेका लागि कार्यक्रम तय भएकामा एक घण्टा पर सारिएको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ केही कार्यक्रममा व्यस्त हुनुपर्ने भएकाले समय परिवर्तन गरिएको उनका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए।

मोर्चामा नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा सहभागी हुने भएका छन्। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले आज मोर्चा घोषणा गर्ने र त्यसको न्यूनतम अवधारणालाई स्वीकृत गरेको थियो।

मोर्चा घोषणाको संयुक्त अवधारणामा हस्ताक्षरलगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताहरूले छलफल गरेका छन्। छलफलमा प्रधानन्त्री प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका शीर्ष नेता सहभागी छन्।

राजनीतिक स्थिरताका लागि भन्दै सत्तारूढ गठबन्धन र सत्ताबाहिरको कम्युनिस्ट पार्टीले मोर्चाबन्दी गर्न लागेका हुन्। साझा प्रतिबद्धतासहित मोर्चा घोषणा हुन लागेको हो।

नेताहरूका अनु्सार आलोपालो नेतृत्व गर्दै संसद् र सडकमा समान विचार भएका मुद्दामा एकताबद्ध भएर अगाडि बढ्नका लागि समाजवादी मोर्चा बनाउन लागिएको हो।

मोर्चा सञ्चालन गर्न तत्कालका लागि दुई तहको संरचना बनाउने तयारी छ। शीर्ष नेताहरू रहने संयोजन समिति र प्रत्येक राजनीतिक दलबाट प्रतिनिधित्व हुने गरी सचिवालय घोषणा गर्न लागिएको हो।

प्रतिनिधिसभामा समाजवादी मोर्चाका ५४ सांसद हुनेछन्, जसमा माओवादीका ३२, जसपाका १२ र एकीकृत समाजवादीका १० जना छन्। मोर्चामा समान विचार भएका अन्य दल थपिने बाटो खुला राखिएकाले संख्या बढ्न सक्ने नेताहरूको भनाइ छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर