सङ्खुवासभा, पाँचथर र ताप्लेजुङमा वर्षाको वितण्डा, राहत तथा उद्धारका लागि प्रधानमन्त्रीको निर्देशन

एकको मृत्यु, २५ बेपत्ता

देशमा मनसुन भित्रिएसँगै पूर्वी नेपालका केही जिल्लामा भएको अत्यधिक वर्षाका कारण बाढी र पहिरोले गएराती वितण्डा मच्चाएको छ । पूर्वी नेपालका पहाडी तथा हिमाली जिल्लाका स्थानिय र निर्माणस्थलहरु बगेका छन् । दर्जनौं मानिस वेपत्ता भएका छन् ।

सङ्खुवासभामा मजदुर वेपत्ता

सङ्खुवासभाको हेवाखेलामा गए राति आएको बाढीले सात घर बगाएको छ । अविरल वर्षासँगै आएको बाढीले हेवाखोला किनारका सात घर बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वर्षासँगै आएको बाढीले सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १७ मजदुर सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए ।

बाढीले बगाएका अप्पर हेवाखोला हाइड्रोपावरमा काम गर्ने एक मजदुरको शव पाँचखपन नगरपालिका–५ खोला किनारमा फेला परेको प्रहरीले जनाएको छ । प्रहरी प्रमुख गोदारका अनुसार शवको पहिचान हुन बाँकी छ । बाढीले चैनपुर–४ मा निर्माण भइरहेको सुपर हेवा हाइड्रोमा पूर्णरूपले क्षति पुगेको छ । बाढीले पाँचखपन र चैनपुर जोड्ने निर्माणाधीन मोटरेबल पुलमा क्षति पु¥याएको छ ।

घटनाको जानकारी लिन प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की, सुरक्षा निकायका प्रमुखको टोली घटनास्थलतर्फ गएको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय चैनपुर र सशस्त्र प्रहरीको टोली खटिएका छन् । घटनाको थप विवरण आउन बाँकी छ ।

पाँचथरमा बाढीले बगाउँदा पाँच जना बेपत्ता,मेची राजमार्ग अवरुद्ध

गए रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढीले बगाउँदा पाँचथरमा पाँच जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा हेवा–१ जलविद्युत् आयोजनामा कार्यरत हिलिहाङ–७ का दिलकुमार तामाङ र फिदिम–१० का सन्जोग लोवा, फिदिम–४ माझीटारमा बोत्तल हाउस सञ्चालन गरेर बसेका आशिष र एलिसा माझी र फिदिम–४ हेवाखोलाबाट एक जना रहेका छन्

फालेलुङ ३ खोलाघारी सेपीमा पहिराले पुरेको बालिकाको सकुशल उद्धार भएको वडाध्यक्ष शक्ति केरुङले जानकारी दिए । वर्षात्ले मेची राजमार्गस्थित पाँचथर जिल्लाको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ जोड्ने हेवाखोला पुल समेत बगाएको छ ।

पुल बगाएपछि मेची राजमार्ग पूर्णरूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले बताए । तमोर करिडोरको ‘बेलीब्रिज’ बगाएको छ । याङ्वरक गाउँपालिका–३ र २ मा घर बगाएको स्थानीयले बताएका छन् । यस्तै फालेलुङ गाउँपालिका–३ मच्छेबुङमा मोटरेबल पुल बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

ताप्लेजुङमा पहिराले एकै परिवारका तीनजना सहित चार बेपत्ता

ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित मेहेलेमा पहिराले घर बगाउँदा एकै परिवारका तीन जना बेपत्ता छन् । स्थानीय कमल कडरियाका अनुसार पहिराले यादव बुढाथोकीको घर बगाउँदा यादवकी श्रीमती भगीमाया, बुहारी सन्ध्या र नाति प्रज्वल बेपत्ता छन् । यस्तै मेहेलेकै भरत तामाङसमेत बेपत्ता छन् । खोला छेउमा घर भएका तामाङले ठूलो वर्षा भएपछि बुवाआमालाई सुरक्षित क्षेत्रमा सारेर फर्किने क्रममा बेपत्ता भएको बताइएको छ ।

घटना क्षेत्रमा साब्लाखु प्रहरी चौकीबाट प्रहरीको टोली गइरहेको सिदिङ्वा गाउँपालिका उपप्रमुख बन्दना कडरियाले जानकारी दिइन। मेहे लेका राजकुमार गौतमको एउटा घर बगेको छ भने अर्को घर जोखिममा छ । यस्तै देउकुमार लिङ्देन र गुमान राईको घर जोखिममा परेको छ भने मेहेले स्वास्थ्यचौकीको भवन पूर्णरूपमा पहिराले बगाएको छ ।

अहिले पनि निरन्तर वर्षा भइरहेकाले सिरीजङ्घा र सिदिङ्वा गाउँपालिकाका अधिकांश नागरिक त्रसित छन् । बाढी र पहिराले जिल्लाका धेरैजसो सडक सञ्जाल पूर्णरूपमा अवरुद्ध छन् भने याम्फुदिन, खेवाङ, मेहेले, सुरुम्खिम, आङ्खोपसहितका ठाउँमा विद्युत्समेत ठप्प छ । मेची राजमार्ग र तमोर करिडोर क्षेत्रका विभिन्न क्षेत्रमा बाढी पहिरो आएपछि तराई जोड्ने सडक पनि अवरुद्ध बनेका छन् । थप क्षतिसहित यकिन विवरण आउन बाँकी छ ।

ताप्लेजुङमा बाढीले तीन घर बगायो, दोभान बजार जोखिममा

अबिरल वर्षासँगै आएको बाढीले ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित आङ्खोपमा तीन घर बगाएको छ । गए राति इङ्वाखोलामा आएको बाढीले प्रेम सेलिङ, महेश्वर सेलिङ र गणेश सेलिङको घर बगाएको स्थानीय शिक्षक चैतन्य बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार सोही क्षेत्रका डिल्ली सेलिङ, रामबहादुर सेलिङ र मीन बुढाथोकीको घर जोखिममा छन् । वर्षासँगै आएको बाढी बस्तीतर्फ पसेपछि घर छाडेर सुरक्षित क्षेत्रमा सरेकाले मानवीय क्षति भएको छैन । बाढीले इङ्वाखोला जलविद्युत् आयोजनामा समेत क्षति पुगेको छ । खोला किनारको खेतीयोग्य जमिनसमेत बगाएको छ भने केही पशुचौपायासमेत बगाएको जनाइएको छ ।

यसैगरी मैवाखोलामा आएको बाढीले दोभानबजार जोखिममा परेको छ । बाढीले बजार क्षेत्र कटान गरेपछि दुई घर उच्च जोखिममा रहेको स्थानीय प्रदीप पोखरेलले बताए । उनका अनुसार दीपक धिताल र सुकबहादुर लिम्बूको घर उच्च जोखिममा छन् । बाढी सामान्यतया घटे पनि पानीको बहाव घटेको छैन । मध्यरातमा बाढी आएपछि बजारका आधाजसो घरपरिवार अन्तै सरेका छन् । बाढीले मेरिङ्देन गाउँपालिकातर्फ जाने खोला किनारको सडकसमेत बगाएपछि बाटो पूर्णरूपमा अवरुद्ध बनेको बताइएको छ ।

मैवाखोला–२ र ५ नं वडा जोड्ने खार्तेखोलाको झोलुङ्गे पुल बगाएको स्थानीयले बताए । रातभर अत्यधिक वर्षासँगै ठाउँ–ठाउँमा बाढी र पहिरो झरेपछि जिल्लाका अधिकांश गाउँघरका मानिस रातभर नै जाग्राम बस्नुपरेको छ । जिल्लाका सबै ठाउँमा वर्षा भएको थियो । बिहीबार रातिमात्र सिरीजङ्घा गाउँपालिकाको याम्फुदिनमा बाढीले क्षति पुगेको थियो । यहाँका पाँचवटा सरकारी कार्यालय स्थानान्तरण गरिएको छ भने १५ घरपरिवार अन्तै सरेर बसेका छन् ।

यसैबीच मेची राजमार्गअन्तर्गत हिलिहाङ र फिदिम नगरपालिका जोड्ने हेवाखोलामा आएको बाढीले पुल बगाएपछि मेची राजमार्गसमेत पूर्णरूपमा अवरुद्ध भएको जनाइएको छ ।

बेपत्ता नागरिकको खोजी, उद्धार र राहतमा जुट्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वी देशका विभिन्न जिल्लामा बाढी पहिरोबाट बेपत्ता नागरिकको खोजी, उद्धार एवं राहतमा सक्रियतापूर्वक लाग्न निर्देशन दिएका छन् ।

उनले बाढी प्रभावितको उद्धारमा जुट्न सुरक्षा अङ्ग, राष्ट्रसेवक कर्मचारीलाई निर्देशन दिँदै सो अभियानमा सहयोग गर्न आम जनसमुदायमा अपिल गरे । प्रधानमन्त्री दाहालले बाढी पहिराका कारण भएको धनजनको क्षतिप्रति पनि गहिरो दुःख व्यक्त गरेका छन् ।

गए राति पूर्वी नेपालमा आएको भारी वर्षाका कारण बाढी र पहिरो आउँदा सङ्खुवासभामा १७ र पाँचथरमा पाँच जना बेपत्ता भएका छन् । बाढीले मेची राजमार्ग अवरुद्ध भएको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *