तनहुँ घटना

सामाजिक सञ्जालमा भेट, प्रेम विवाह अनि एक महिनामै क्रुर हत्या

प्रहरीले तनहुँको व्यास नगरपालिका–४ चिहानडाँडास्थित नालामा बोराभित्र महिला मृत फेला परेको घटनामा महिलाका श्रीमानलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भानु नगरपालिका–५ मैबल हटिया घर भई व्यास–४ मा डेरा गरी बस्ने २१ वर्षीय मनोज विष्ट रहेका छन् । प्रहरीले विष्टलाई मङ्गलबार राति व्यास–३ स्थित तरकारी लाइनबाट पक्राउ गरेको हो । उनलाई प्रहरीले बुधबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।

मृतक व्यास–१२ लामीडाँडा माइती भएकी उनकै श्रीमती रङ्गिला भुजेल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले जानकारी दिए। पक्राउ परेका विष्टउपर जिल्ला अदालत तनहुँबाट पाँच दिनको म्याद थप गरिएको छ ।

विष्टले श्रीमतीलाई डेरामै हत्या गरेर बोरामा बोकेर चिहानडाँडा नजिकको नालाको कल्भर्टमा लगेर फालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मृतक रङ्गिलाले दुई वटा सिम प्रयोग गर्ने गरेको र सोही कारण श्रीमान् श्रीमतीबीच मनमुटाव हुने गरेको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक विष्टले बताए ।

उपरीक्षक विष्टका अनुसार जेठ २६ गते दिउँसो श्रीमान् श्रीमतीबीच झगडा भएको र मनोजले श्रीमतीको हत्या गरी बोरामा शव हालेर आफैँले बोकेर चिहानडाँडा पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनी शवलाई कल्भर्टमा हालेर डेरा फर्किएको एसपी विष्टले पत्रकार सम्मेलनमा भने ।

उनीहरूबीच सामाजिक सञ्जालमार्फत गत वैशाख १ गते प्रेम विवाह भएको थियो । पक्राउ परेका विष्ट दमौलीमा मार्केटिङ व्यवसायमा आबद्ध रहेको प्रहरीले जनाएको छ । प्रहरी उपरीक्षक विष्टले शव परीक्षणको रिपोर्ट आएपछि थप केही खुलासा हुने बताए ।

मृतकका बुबा मनबहादुर भुजेलले जेठ ३० गते बिहान छोरी हराएको भनेर कार्यालयमा फोटोसहितको हुलिया निवेदन दिएका थिए । उक्त निवेदमा भुजेलले छोरी गत जेठ २४ गतेदेखि सम्पर्कविहीन भएको उल्लेख गरेका थिए ।

बुवा मनबहादुर भुजेलले पेस गरेको हुलिया मृतकको शवसँग मिल्दोजुल्दो देखिएकाले निजलाई बोलाएर मृतकको सनाखत गरिएको प्रहरी उपरीक्षक विष्टले बताए । हातमा लगाएको चुरा, कानमा लगाएको रिङ र हातखुट्टाका आधारमा मृतकका बुबाले सनाखत गरेको प्रहरी उपरीक्षक विष्टको भनाइ थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *