ओलीबारे लेखनाथ दाहालको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउने प्रमुख तीन दलबीच सहमति

प्रमुख तीन दलहरूबीच पशुपतिनाथको जलहरीबारे सत्तापक्षका सांसद लेखनाथ दाहालकाे अभिव्यक्ति संसदकाे रेकर्डबाट हटाउने सहमति जुटेको छ। शनिबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको प्रमुख तीन दलका नेताहरूबीचको बैठकमा यो सहमति भएको हो।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद दाहालले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिरको जलहरी सुनको भनेर पित्तलको लगाई भ्रष्टाचार गरेको आरोप लगाएका थिए।

संसदभित्र प्रमुख प्रतिपक्ष दलका नेतामाथि तथ्यहीन आरोप लगाएको भन्दै नेकपा (एमाले) ले शुक्रबारको प्रतिनिधिसभा बैठक अवरोध गरेको थियो।

सोही विषयलाई टुंग्याई सदन सञ्चालन गर्न आज शीर्ष तीन दल नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का शीर्ष नेताहरूबीच छलफल भएको हो।

शीर्ष नेताको बैठकमा संसदको रेकर्डबाट उक्त अभिव्यक्ति हटाउने र आजको संसद बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले ओलीमाथिको आरोप निराधार रहेको कुरा सम्बोधनका क्रममा उल्लेख गर्ने सहमति भएको नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले बताए।

उनले जलहरी प्रकरणमा ओलीको संलग्नता नरहेको र तथ्यहीन आरोप रहेको कुरा प्रधानमन्त्रीले सम्बोधन गर्नेबारे तीन दल सहमत भएको बताए।

सचेतक गिरीले सत्तापक्षका सांसद दाहालले स्वास्थ्य उपकरणमा दुई अर्बको भ्रष्टाचारको कुरा पनि संसदमा अभिव्यक्त गरेको भन्दै सो विषय पनि आधारहीन भएकाले संसदको रेकर्डबाट हटाउने सहमति भएको बताए। उनले भ्रष्टाचारका जति पनि मुद्दाहरूमा नेकपा (एमाले) छानबिन गर्न तयार रहेको बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर