भुटानी शरणार्थी प्रकरण

बयानकै आधारमा पक्राउ गर्न मिल्दैन, थप अनुसन्धान जारी छ : गृहमन्त्री श्रेष्ठ

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा सञ्चारमाध्यममा नाम आएकाहरूको थप अनुसन्धान भइरहेको बताएका छन्।

बिहीबार नेकपा (एमाले) को भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणबारे निष्पक्ष छानबिनको माग गर्दै बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले सो कुरा बताएका हुन्।

मन्त्री श्रेष्ठले कोही व्यक्तिले दिएको बयानकै आधारमा मात्रै पक्राउ गर्न नमिल्ने भन्दै थप अनुसन्धान भइरहेको बताए।

‘एउटाले बयान दिएकै आधारमा मुद्दा चलाउन मिल्दैन कि भनेर अरू प्रमाणहरू पनि खोज्ने प्रयासमा प्रहरी छ। एउटा कसैले भनिदियो भन्दैमा पक्राउ गर्न मिल्दैन,’ उनले भने।

उनले राजनीतिक दलहरूले नागरिकलाई जीवन फेरिएको अनुभूति दिन नसकेको बताए। उनले देशमा भ्रष्टाचारको जालो व्याप्त रहेको र कमिसनको जालो नतोड्दासम्म समृद्धिको यात्रा सफल हुन नसक्ने बताए।

उनले भ्रष्टाचारको प्रभावकारी नियन्त्रण गर्न आवश्यक भएको बताए। उनले देशको नागरिकलाई अनागरिक बनाई विदेश पठाएर सम्पत्ति कमाउने काम सह्य नहुने बताए।

उनले राजनीतिक प्रभाव र अवाञ्छित दबाबबाट मुक्त भएर स्वतन्त्र रूपमा छानबिन गर्न प्रहरीलाई निर्देशन दिएको पनि बताए। गृहमन्त्री श्रेष्ठले नक्कली शरणार्थी बनाई देशका नागरिकलाई बेच्ने कार्य सह्य नहुने बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर