जलनका बिरामीलाई पनि क्यान्सर रोगसरह आर्थिक सहयोग उपलब्ध गराउन सांसद चन्द्र भण्डारीको माग
नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले जलनका बिरामीहरूलाई पनि क्यान्सर रोगसरह नै आर्थिक सहयोग उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।
खाना पकाउने ग्यासको जलनबाट पीडित भएपछि पहिलो पटक बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने क्रममा उनले सो माग गरेका हुन्।
गरिब मानिसहरू नै यसको बढी मारमा पार्ने भएकाले उनीहरूलाई पनि क्यान्सर, किड्नी रोगलाई जस्तै आर्थिक सहायता राज्यले उपलब्ध गराउनुपर्ने उनको भनाइ छ। सांसद भण्डारीले ग्यास र बिजुलीजस्ता विषयवस्तु विद्यालय तहकै पाठ्यक्रममा समावेश गर्नुपर्ने आवश्यकता पनि औंल्याए।
उनले आफू शौभाग्यशस बाँचेर संसदमा बोल्ने अवसर पाएको उल्लेख गर्दै नेपालका चिकित्सक र स्वास्थ्यकर्मीहरू विश्वका कुनै पनि चिकित्सकहरूभन्दा कम नभएको पनि बताए। उनले नेपालमा जलन अस्पताल सरकारले स्थापना गरे त्यो एशियाकै सबल हुने बताए।
सांसद भण्डारीले कीर्तिपुर बर्न अस्पताल र सुष्मा मेमोरियल अस्पतालको भवन बनाउन पनि सरकारको ध्यानाकर्षण गराए। उनले ग्यासमा स्वचालित रेगुलेटर राख्नुपर्ने व्यवस्था अनिवार्य हुने गरी कानून निर्माण गर्न पनि सरकारलाई सचेत गराए।
सांसद भण्डारीले आफूलाई जलनबाट बचाउन भूमिका निर्वाह गर्ने नेपाल सरकार, सांसदहरू, उपचारमा संलग्न चिकित्सक, शुभचिन्तक सबैप्रति आभार पनि व्यक्त गरे।
प्रतिक्रिया