नीति तथा कार्यक्रम कार्यान्वयन हुनेमा सत्तारूढ दलकै सांसदलाई छैन विश्वास

सरकारले ल्याएको नीति तथा कार्यक्रम कार्यान्वयन हुनेमा सत्तारूढ दलका सांसदहरू नै विश्वस्त छैनन्। सोमबारको राष्ट्रियसभाको बैठकमा बोल्ने क्रममा सत्तारूढ दलका सांसदहरूले नै सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन हुनेमा विश्वस्त हुन नसकेको अभिव्यक्ति दिएका हुन्।

बैठकमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै राष्ट्रियसभा सदस्य नरबहादुर विष्टले नेपाली जनताको चाहनाअनुसार राज्यले गर्नुपर्ने दायित्व धेरै भएको र सोहीअनुसार सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरे पनि कार्यान्वयन हुन्छ भन्नेमा विश्वस्त नरहेको बताए। उनले हरेक वर्ष नीति तथा कार्यक्रम आउने तर कार्यान्वयन हुन नसक्ने अवस्था रहेको भन्दै यस वर्ष पनि कार्यान्वयन हुनेमा पूर्ण रूपमा विश्वस्त हुन नसक्ने बताए।

राष्ट्रियसभा सदस्य दिलकुमारी थापा रावल पार्वतीले संविधानले भनेको समावेशी र समन्यायिक विकासका आधारमा नीति तथा कार्यक्रम नआएको बताइन्। उनले सरकार स्थानीय तह र प्रदेश सरकारका समस्या समााधान गर्नेतर्फ संवेदनशील बन्न नसकेको आरोप लगाइन्। उनले कर्मचारी नहुँदा स्थानीय तहमा विकास निर्माणका कामले गति लिन नसकेको पनि बताइन्।

राष्ट्रियसभा सदस्य कमला पन्तले नीति तथा कार्यक्रमका विषयहरू सकारात्मक रहे पनि कार्यान्वयनको चरण चिन्ताको विषय भएको बताइन्। उनले कस्तो बजेट आउँछ भन्नेबाट पनि कार्यान्वयनको बारेमा पत्ता लाग्ने बताइन्। उनले भ्रष्टाचार नियन्त्रणप्रति पूर्ण प्रतिबद्ध, हरित अर्थतन्त्रलगायतका प्रकृतिमैत्री अर्थतन्त्रका कार्यक्रमहरू स्वागतयोग्य रहेको बताइन्।

राष्ट्रियसभा सदस्य जयन्तीदेवी राईले नीति तथा कार्यक्रम सबै क्षेत्रलाई समेटेर प्रस्तुत गरिएको बताइन्। उनले कार्यक्रमहरू राम्रो भए पनि कार्यान्वयनको समस्या भएको बताइन्। उनले संविधान, संघीयता प्रभावकारी कार्यान्वयन, अर्थतन्त्रको संरचनात्मक सुधार, पुँजीगत खर्चको वृद्धि, भ्रष्टाचार नियन्त्रण, सार्वजनिक खर्चमा मितव्ययिता, गुणस्तरीय पूर्वाधार निर्माण र शासकीय सेवा प्रवाहमा सुधार र रोजगारी वृद्धिलगायतका पक्ष राम्रा रहेको बताइन्। उनले नीति तथा कार्यक्रम कार्यान्वयन हुने किसिमको बजेट विनियोजन गर्नुपर्नेमा जोड दिइन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर