एभरेष्ट बैंकले भन्याे- कर्मचारीले चाेरेकाे रकम ग्राहककाे खातामा जम्मा गरिसक्याैं

एभरेष्ट बैंकले बैंककै कर्मचारीरूको संलग्नतामा ग्राहकको खाताबाट चोरी भएको रकम सम्बन्धित ग्राहकको खातामा जम्मा गरिसकेको जनाएको छ ।

एक विज्ञप्ति जारी गर्दै बैंकले बैंकको इटहरी शाखाबाट चोरी भएको एक करोड ५० लाख २३ हजार ४३४ रुपैयाँ सम्बन्धित बचतकर्ताको खातामा जम्मा गरिसकेको जनाएको हो ।

‘केही समय पहिला बैंकका एक कर्मचारीले ग्राहकको खाताबाट अनधिकृत रूपले रकमान्तर गरेकाले बैंकले तत्कालै आन्तरिक अनुसन्धान गरी सम्बन्धित ग्राहकको खातामा उक्त रकम शोध भर्ना गरी नेपाल राष्ट्र बैंकलाई जानकारी गराएको थियो,’ बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सो हिनामिना कार्यमा संलग्न कर्मचारीलाई बैंककै जाहेरीमा मिति २०७९ साल चैत्र २२ गते प्रहरीलाई जिम्मा लगाएको र हाल सो विषय प्रहरी अनुसन्धानमा नै रहेको जानकारी गराउन चाहन्छौं ।’

आफ्ना ग्राहकको खाता र व्यक्तिगत गोपनीयतालाई उच्च प्राथमिकता र गम्भीरताका साथ लिएको बैंकले जनाएको छ ।

‘हामी हाम्रा समस्त ग्राहक महानुभावहरूको सम्पूर्ण निक्षेप रकम बैंकमा सुरक्षित रहेको जानकारी गराउँदछौं । साथै सामाजिक सञ्जालमा प्रकाशित यी र यस्ता भ्रामक समाचारका पछि नलाग्न सम्पूर्ण ग्राहक महानुभावहरू तथा सरोकारवालाहरू समक्ष हार्दिक अपिल गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

प्रहरीले घटनाको अनुसन्धानमा बैंकका कर्मचारीसहित नौजनालाई पक्राउ गरेपछि घटना बाहिर आएको हो । उनीहरुले ३३ जना बचतकर्ताको खाताबाट रकम चोरी गरेका थिए । पक्राउ पर्नेमध्ये सात जना बैंकका कर्मचारी हुन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पाँच महिनाको अवधिमा ३३ जना ग्राहकको खाताबाट एक करोड ५० लाख २३ हजार ४३४ रुपैयाँ चोरी भएको हो । पाँच महिनाको अवधिमा ५९ पटक कनेक्ट आईपीएसमार्फत सो रकम निकालेको प्रारम्भीक अनुसन्धानमा खुलेको छ ।

बैंकका कर्मचारीले ग्राहकको कनेक्ट आईपीएसको आ‍इडी पासवर्ड चोरेर रकम पठाउने गरेका थिए । त्यस्तै कोर बैंकिङ्क सिस्टम (सीबीएस) बाट चल्तीमा नरहेका खातामा पठाउने र नक्कली चेक प्रयोग गरेर सो रकम निकाल्ने गरेको अनुसन्धानमा खुलेको छ । रकम अन्य बैंकको विभिन्न खातामा समेत पठाएको खुलेको छ ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा बैंकको इटहरी शाखा प्रबन्धक सिन्धुपाल्चोक बाह्रविसेका ४२ वर्षीय विश्वराज शाक्य, बैंकको उदयपुर गाइघाट शाखाका अपरेशन इञ्चार्ज विराटनगर–८ का ३४ वर्षीय निरज प्रधान, एभरेष्ट बैंक इटहरी शाखाका सुपरभाईजर ३७ वर्षीय धावा लामा, बैंकका कनिष्ठ सहायकहरु २७ वर्षीय मनोज घिमिरे, २७ वर्षीय देवराज शर्मा, २७ वर्षकै रंजित पण्डित, बैंकको इटहरी शाखाकी टेलर ३० वर्षीय पवित्रा कटुवाललाई पक्राउ गरेको हो ।

त्यस्तै धनुसाको मिथिला नगरपालिका– ११ का ३४ वर्षीय शंकर भुजेल, भक्तपुरको सुर्यविनायक नगरपालिका–२ का २७ वर्षीय अजय खिउजू पक्राउ परेका छन् ।

अनुसन्धान अधिकारीका अनुसार ग्राहकको कनेक्ट आईपीएसको आइडी पासवर्ड चोरी गरी र नक्कली चेक बनाएर रकम झिक्ने गिरोहका नाइके गाइघाट शाखाका अपरेशन इञ्चार्ज प्रधान रहेको अनुसन्धानमा खुलेको छ ।

प्रधानको २८ फागुन २०७९ मा इटहरीबाट गाइघाट शाखामा सरुवा भएको थियो । उनको योजनामा २८ कात्तिक २०७९ देखि १७ चैत्र २०७९ सम्म पाँच महिनाको अवधिमा ५९ पटक कनेक्ट आईपीएसबाट एक करोड १४ लाख ७५ हजार २८४ रुपैयाँ निकालिएको थियो । त्यस्तै नक्कली चेकमार्फत ३५ लाख ४८ हजार १५० रुपैयाँ निकालिएको प्रहरीले जनाएको छ ।

अनुसन्धानका क्रममा प्रहरीले २०७९ चैत १२ गते एभरेष्ट बैंक गाइघाट शाखाका अपरेशन इञ्चार्ज प्रधानलाई पक्राउ गरेको थियो । प्रधानसँगको सोधपुछपछि बैंकभित्रको संगठित गिरोह र घटना बाहिर आएको हो ।

प्रहरीले घटनामा संलग्नहरुलाई पटक पटक गरेर पक्राउ गरेको हो । घटनाको बिस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *