अनुदान नपाएपछि कपिलवस्तुका उखु किसानको काठमाडौंमा धर्ना
सरकारले अनुदान नदिएपछि कपिलवस्तुका उखु किसानहरू काठमाडौंमा धर्नामा बसेका छन्। २०७१ सालमा उखुमा दिने भनिएको अनुदान आफूहरूले मात्रै नपाएपछि काठमाडौंको माइतीघर मण्डलामा आएर धर्नामा बस्न बाध्य हुनुपरेको कपिलवस्तु उखु किसान संघर्ष समितिका सदस्य रामलाल कलवारले बताए।
२०७१ सालमा सरकारले उखु किसानहरूलाई प्रतिक्विटल २५ रुपैयाँका दरले अनुदान दिने निर्णय गरेको थियो। तर सो रकम अझसम्म पनि सरकारले नदिएपछि न्यायको खोजीमा उनीहरू काठमाडौं आएका हुन्।
अनुदानको रकम लिनका लागि जिल्ला प्रशासन कार्यालयमा दिइएको दबाब काम नलागेपछि काठमाडौंमा आएर धर्नामा बस्नुपरेको संघर्ष समितिका सदस्य रामलाल कलवारले बताए। उनले आफूहरूलाई सो अनुदान नदिएसम्म धर्नाको कार्यक्रम अन्त्य नगर्ने चेतावनीसमेत दिए।
उनीहरूले अन्य जिल्लालाई दिइएको त्यो अनुदानबापतको रकम आफूलाई नदिएको भन्दै पाँच दिनयता काठमाडौंमा धर्ना कार्यक्रमलाई निरन्तरता दिइरहेका छन्। तर सरकारले कुनै सुनुवाइ नगरेको उनीहरूको गुनासो छ।
प्रतिक्रिया