बुद्ध एयरको जहाजमा मुसा देखिएपछि…
जनकपुरबाट काठमाडौं उडान भर्ने तयारीमा रहेको बुद्ध एयरको जहाजमा मुसा देखिएपछि उडान स्थगित गरिएको छ ।
उक्त जहाज काठमाडौं उड्नै लाग्दा यात्रुले मुसा देखेपछि उडान रोकेर अहिले इन्जिनियरहरूले प्राविधिक मर्मत गरिरहेका छन् । बिहान ९ः१५ बजे जनकपुरबाट काठमाडौं उडान तालिका रहेको जहाजमा यात्रुले मुसा देखिपछि उडान रोकेर जहाजको प्राविधिक चेकजाँच भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।
आज विहान जनकपुरबाट काठमाडौं उडान संख्या 502, जहाज 9N-AJL मा यात्रुले मुसा देखेको रिर्पोटिङपछि तत्कालै यात्रुलाई लिनका लागि अर्को जहाज काठमाडौंबाट पठाइएको छ । त्यस जहाज 9N-AJL लाई हाम्रा टेक्निकल टिमले चेकजाँच गरिरहेका छन् ।
— Buddha Air (@AirBuddha) May 20, 2023
उक्त जहाज काठमाडौंबाट उडान भरेर बिहान साढे ८ बजे जनकपुर पुगेको थियो । जहाजमा ४९ यात्रु रहेका थिए । प्रवक्ता निरौलाले जहाजमा मुसा देखिएको खबर पाएपछि काठमाडौंबाट इन्जिनियरको टोलीले जनकपुर गएर जहाजको परीक्षण गरेपछि मात्रै उडान गरिने बताए ।
बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार उक्त जहाज अहिले इन्जिनियरले चेकजाँच गरिरहेका छन् । प्राविधिक परीक्षणपछि जहाज सञ्चालनमा आउनेछ । सो जहाजका यात्रुलाई अर्को जहाजमार्फत काठमाडौं ल्याइसकिएको कर्णले बताए ।
प्रतिक्रिया