विदेशी लगानी प्रोत्साहन र स्वदेशी उद्योग संरक्षण गरी आर्थिक भार कम गर्छौं : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशी लगानीलाई प्रोत्साहन र स्वदेशी उद्योगलाई संरक्षण गरी आर्थिक भार कम गर्ने सरकारको नीति रहेको बताएका छन्।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा प्रतिनिधिसभा सदस्य पदम गिरीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन्।

उनले सरकारले राजस्व प्रशासनलाई थप सुदृढ र चुस्त बनाउँदै राजस्वको दायरा विस्तार गर्ने र राजस्व चुहावट, राष्ट्रिय पुँजी पलायन, अवैध कारोबारलाई कडाइका साथ नियन्त्रण गर्ने सरकारले नीति लिएको बताए।

प्रधानमन्त्री दाहालले सरकारले सरकारी खर्चमा मितव्ययिता कायम गरी फजुल खर्चको नियन्त्रण गरिरहेको बताए। उनले वित्तीय संघीयताको प्रभावकारी कार्यान्वयन गरी खर्चको आवश्यकता र राजस्व क्षमताको आधारमा वित्तीय हस्तान्तरणको कार्यक्रमलाई सुदृढ गर्दै लगिने प्रतिबद्धता जनाए।

उनले प्रदेश र स्थानीय सरकारको राजस्व क्षमता वृद्धि गर्ने, करको दायरा वृद्धि गरी सक्षम र आत्मनिर्भर बनाउने कार्यक्रम ल्याउने बताए। उनले २०७२ सालको महाभूकम्प, कोभिड-१९ को प्रभाव, अन्तर्राष्ट्रिय आर्थिक मन्दीलगायतका कारणबाट देशको अर्थतन्त्रको समग्र मागमा ह्रास आएको बताए।

प्रधानमन्त्री दाहालले तरलताको संकुचनका साथै घट्दो दरमा राजस्व परिचालन भएको र पुँजीगत खर्चमा अपेक्षित सुधार हुन नसकेको बताए। उनले अर्थतन्त्रका चुनौतीहरूलाई सम्बोधन गर्न वित्तीय, मौद्रिक र क्षेत्रगत नीतिगत व्यवस्थामा आवश्यक सुधार गरी समष्टिगत आर्थिक स्थायित्व कायम गर्न सरकार प्रयत्नशील रहेको बताए।

उनले विदेशी लगानीलाई प्राथमिकता दिँदै सरकार र निजी क्षेत्रको साझेदारीमा उत्पादन र उत्पादकत्व वृद्धि गरी रोजगारी सिर्जना गर्ने खालका कार्यक्रमहरू सरकारले प्राथमिकतामा राखेको बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *