क्यान्टोनमेन्टमा भ्रष्टाचार गरेको प्रमाणित भए जेल जान तयार छु : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माआवोदी लडाकुहरूलाई सैन्य शिविर ( क्यान्टोनमेन्ट) मा राख्दा कुनै भ्रष्टाचार नभएको दाबी गरेका छन्।

बिहीबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले क्यान्टोन्मेन्टमा भ्रष्टाचार भएको आरोप कपोलकल्पित र पूर्वाग्रही रहेको दाबी गरेका हुन्।

उनले यस विषयमा कसैले दिएको उजुरीका आधारमा छानबिन गरी दोषी प्रमाणित भए आफू जेल जान तयार रहेको बताए।

उनले क्यान्टोनमेन्टमा रहेका लडाकुलाई दिएको रकमको सबै रेकर्ड सुरक्षित रहेको बताए। राज्यबाट दिएको रकम अडिट भएर टुंगो लागेको भए पनि पटक-पटक राजनीतिक आग्रह र पूर्वाग्रहका आधारमा यो विषय उठाउने गरिएको उनले बताए।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले यसमा आफू दोषी देखिए जेल जान तयार रहेको बताएका हुन् ।

शिविरमा रहँदा लडाकुको तलबभत्तामा मात्र राज्यकोषबाट खर्च भएको ४ अर्ब रुपैयाँमा ठूलो भ्रष्टाचार भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरेको थियो ।

एमाले भ्रातृसंगठन युवासंघले लडाकु शिविरका लागि सरकारले उपलब्ध गराएको रकममा घोटाला भएको भन्दै छानबिन माग राखेर २०७० असोजमा आयोगमा उजुरी दर्ता गराएको थियो। त्यसको दुई महिनापछि मंसिरमा आयोगले अनुसन्धान अधिकृत तोकेको थियो। अनुसन्धान अधिकृतले शान्ति मन्त्रालय र सम्बन्धित अन्य पक्षलाई पत्र काटेका थिए। मन्त्रालयबाट जवाफ आएपछि आयोगले यो प्रकरणलाई तामेलीमा राखेको थियो।

मन्त्रालयले विस्तृत शान्तिसम्झौतापछि लडाकु शिविर व्यवस्थापन गर्दा ६ वर्षमा ९ अर्ब ७९ करोड ६८ लाख ८० हजार २ सय ९६ रुपैयाँ खर्च भएको जानकारीसहित पत्र आयोगलाई पठाएको थियो।

तत्कालीन सेना समायोजन विशेष समितिले लडाकु तथा शिविरका लागि राज्यकोषबाट निकालिएको रकम दुरुपयोग भएको निष्कर्ष निकाल्दै छानबिन गर्ने नीतिगत निर्णय गरेको थियो।

उजुरीमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेताहरू बाबुराम भट्टराई र कृष्णबहादुर महरा र लडाकु शिविरका कमान्डरमाथि छानबिन र कारबाही माग गरिएको छ।

 

प्रतिक्रिया

One thought on “क्यान्टोनमेन्टमा भ्रष्टाचार गरेको प्रमाणित भए जेल जान तयार छु : प्रधानमन्त्री

  1. निष्पक्ष छानबिन होस् सत्यतथ्य बाहिर आउनुपर्यो दोषी छ भने कारबाही गर्नुपर्यो दोषी छैन भने उच्च सम्मानकासाथ राख्नुपर्यो अरु कोहि पनि भ्रष्टाचार गरेको छ भने त्यसमा छानबिन हुनुपर्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर