महिला सैनिक, कर्मचारी तथा छात्राहरुका लागि निशुल्क स्यानिटरी प्याड

नेपाली सेनाले आफ्ना महिला सैनिक तथा कर्मचारीहरुका लागि निशुल्क स्यानिटरी प्याड वितरण गर्ने भएको छ । प्रधानसेनापतिको कमाण्ड नीति तथा मार्गनिर्देशन २०७८ को लक्ष्य (कल्याणकारी सेवा र सहुलियतको विस्तार एवं प्रभावकारी व्यवस्थापन गर्ने) अनुरुप कल्याणकारी कार्य अन्तर्गत यस्तो व्यवस्था गरिएको हो ।

यसका लागि सेनाको कल्याणकारी निर्देशनालयले आफ्नो उत्पादन कारखाना स्थापना गरेको छ । कारखानाबाट प्रति व्यक्ति मासिक १६ वटा स्यानिटरी प्याड वितरण गर्ने गरी उत्पादन शुरु भईसकेको छ । स्यानिटरी प्याड उत्पादन कारखाना स्थापनाका लागि माछापुच्छ्रे बैंकले सैनिक कल्याणकारी निर्देशनालयलाई मेशिन उपलब्ध गराएको छ । यस्तै नबिल बैंक, सिद्धार्थ बैंक र कुमारी बैंकले पनि प्याड उत्पादनका लागि सहयोग पुर्‍याएका छन् ।

जङ्गी अड्‍डामा मंगलबार आयोजित एक कार्यक्रममा सहयोगगर्ने बैंकहरुका प्रतिनिधिहरुको उपस्थितीमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले प्रधानसेनापति प्रभुराम शर्मालाई स्यानिटरी प्याड उत्पादन मेशिन हस्तान्तरण गरे ।

नेपाली सेनाले सैनिक कल्याणकारी कोष खडा गरी बहालवाला तथा अवकाश प्राप्त सकलदर्जा र आश्रित परिवारको हितमा विभिन्न कार्यक्रम संचालन गर्दै आएको छ । सैनिक कल्याणकारी कोषको संचालन र व्यवस्थापन सैनिक ऐन २०६३ अनुरुप हुँदै आएको छ ।

कोष अन्तर्गत संचालित महाविद्यालय तथा विद्यालयहरुमा अध्ययनरत छात्राहरुलाई पनि निशुल्क र नियमित रुपमा स्यानिटरी प्याड उपलब्ध गराइने सेनाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर