नाबालिकालाई बेहोश बनाउने औषधि खुवाएर असम पुर्‍याई यौनधन्दामा लगाउने महिला पक्राउ

नाबालिकालाई भारतको असम लगेर बेचबिखन गरी वेश्यावृत्तिमा लगाएको आरोपमा एक महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं. ३ बस्ने ३० वर्षीया अप्सरा भन्ने एलिना खत्री छिन्।

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले जिल्ला प्रहरी कार्यालय झापाको समन्वयमा उनलाई आइतबार झापाबाट पक्राउ गरेको हो।

पक्राउ परेकी उनीविरुद्ध सोमबार जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) कृष्णप्रसाद पंगेनीले जानकारी दिए।

प्रहरीका अनुसार पीडित बालिका २०७९ साल कात्तिक २४ गते आफन्तकोमा जान्छु भनी आफ्नो घर नुवाकोटबाट काठमाडौंको बस चढेकी थिइन्।

सोही क्रममा सोही बसमा सवार अर्को सिटमा बसेका एक पुरुषले बालिकालाई खोनकुरा तथा पानीमा बेहोश हुने औषधि मिसाएर खुवाएका थिए। बालिका बेहोश भएपछि उनलाई भारतको असम राज्यको कर जिल्लाको सिल्चर भन्ने स्थानको रेड लाइट एरियाको कोठीमा पुर्‍याएर बेचिएको थियो।

जबरजस्ती वेश्यावृत्तिमा लगाइएको अवस्थामा नेपाल प्रहरी, भारतीय प्रहरी र माइती नेपालको संयुक्त पहलमा पीडित बालिकाको उद्धार गरिएपछि उनले ब्यूरोमा जाहेरी दिएकी थिइन्।

प्रहरी अनुसन्धानका क्रममा यस कसुरमा पक्राउ परेकी एलिनासहित नेपाली र भारतीय गरी हालसम्म जम्मा ६ जनाको संलग्नता रहेको देखिएको छ।

प्रतिवादीहरू यसभन्दा अगाडिसमेत मानव बेचबिखन तथा ओसारपसार अपराधमा संलग्न रहेको पाइएको छ।

प्रतिवादीहरूले भारतको असम राज्यको कछर जिल्लाको सिल्चर भन्ने स्थानमा नेपालबाट युवतीहरूलाई झुक्याएर लगी वेश्यालय सञ्चालन गर्ने गरेको खुलेको छ।

पक्राउ परेकी उनी यसअघि पनि मानब बेचबिखन तथा ओसारपसार मुद्दामा धरौटीमा रिहा भई तारेखमा रहेको प्रहरी अभिलेखबाट खुलेको छ।

उक्त एकै मुद्दामा उनका श्रीमान भारतीय नागरिक अजित साहसमेत पुर्पक्षका लागि थुनामा रहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर