आर्थिक संकटकाे समयमा गोकर्णेश्वर नगरपालिकाको १८ लाख रुपैयाँको मदिरासहितको ‘मेजमानी’

काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले क्षमता अभिवृद्धि कार्यक्रमको नाममा लाखौं रुपैयाँ बजेट दुरुपयोग गरेको आरोप लागेको छ। दुई दिन आयोजित कार्यक्रममा सहभागीलाई बसोबासको व्यवस्थासहित रक्सी र मासुभात खुवाएर १८ लाख रुपैयाँ बढी रकम खर्च गरेको आरोप लागेको हो।

नगरपालिकाले वैशाख २९ र ३० गते धुलिखेलस्थित हिमालय दृश्य रिसोर्टमा ‘जनप्रतिनिधि र कर्मचारीहरूका लागि प्रशासन तथा योजनासम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम’ सञ्चालन गरेको थियो। उक्त कार्यक्रममा सहभागीहरू मदिरा सेवनसहित रिसोर्टमा सामूहिक नाचगान गरिरहेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

यस विषयमा प्रश्न उठाउँदै शिवु भतिज नामका ट्विटर प्रयोगकर्ताले लेखेका छन्, ‘गोकर्णेश्वर नगरपालिकाले २ दिनमा १८ लाख खर्च गरेर आर्थिक मन्दी लागेको बेला धुलिखेलको रिसोर्टमा जनप्रतिनिधि र कर्मचारीहरूका लागि क्षमता अभिवृद्धि कार्यक्रम आयोजना!’

 


यही विषयमा अर्को ट्विट गर्दै उनले कार्यक्रमको नाममा जाँड-रक्सी सेवन र नाचगानसमेत गरिएको भन्दै खर्च विवरण सार्वजनिक गर्न माग गरेका छन्।

पर्दाफासले यस विषयको सत्यतथ्य बुझ्न नगरपालिकाका मेयर दीपककुमार रिसाललाई सम्पर्क गर्दा उनले फोन उठाएनन्।

नगरपालिकाकी उपमेयर सान्नानी लामाले भने मेयरको आयोजनामा कार्यक्रम भएको भन्दै आफूलाई यस विषयमा केही थाहा नभएको बताइन्। उनले आफू केहीबेर मात्र कार्यक्रममा रहेर सामान्य खाजा-नास्ता गरी अर्कै कार्यक्रममा सहभागी हुनुपर्ने भएकाले निस्किएको र त्यसपछिको घटना सामाजिक सञ्जालबाट मात्र थाहा पाएको बताइन्।

हेर्नुहाेस् भिडियाे :

‘म प्रदेश सुशासनको दुई दिनको तालिम भएकाले सामान्य नास्ता गरेर हिँडिहालेँ। राति त्यहीँ बस्नुभएका कर्मचारीहरूले त्यसो गर्नुभएको सामाजिक सञ्जालमा भिडियो हेरेपछि थाहा पाएँ,’ उनले भनिन्, ‘कर्मचारीहरूले आफ्नै खर्चमा खानुभयो कि नगरपालिकाको र के कति खर्च भयो भन्ने केही थाहा छैन। मैले मेयर सापलाई हिजो फोन गरेकी थिएँ। बेइमानहरूले जे पनि लेखिदिन्छन् नि भन्नुभयो। मेयर सापको आयोजनामा कार्यक्रम भएको हो। बाँकी कुरा उहाँलाई नै थाहा होला।’

यस्तै नगर प्रवक्ता नारायणबहादुर सुवेदीले आफू बाहिर रहेकाले सूचना अधिकारीसँग बुझ्न भने।

नगरपालिकाका सूचना अधिकारी भूपेन्द्र बोहराले जनप्रतिनिधिकै मागमा कार्यक्रम गरिएको र कार्यक्रममा १८ लाख रुपैयाँ रकम खर्च भएको कुरा झुटो रहेको दाबी गरे। उनले कार्यक्रम सकिएपछि सहभागीहरू आफैंले खर्च गरेर रमाइलो गरेको बताए।

‘जनप्रतिनिधिहरूले हामी नयाँ छौं, प्रशासनिक र योजनागत प्रक्रियाहरू बुझ्न समस्या भयो भनेपछि नगर कार्यपालिका बैठकबाट रकम छुट्याएर कार्यक्रम गरिएको हो। कार्यक्रम सम्पन्न भएपछि त्यहाँ बस्नुभएकाहरूले स्वेच्छाले आफैं रमाइलो गर्नुभएको हो,’ बोहराले भने, ‘ नगरपालिकाको रकम त्यसमा खर्च भएको छैन। १८ लाख रुपैयाँ खर्च भएको भन्ने कुरा गफले उडाएको मात्रै हो। के आधारमा त्यो लेखियो लेख्नेलाई नै सोध्नुपर्ला नि।’

उनले कार्यक्रममा के कति खर्च भयो भन्ने विवरण तयार भइनसकेकाे बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर