पुनर्स्थापनाका लागि बजेट माग गर्दै मन्त्री श्रेष्ठलाई मुक्त कमैया र हरुवाचरुवाकाे ज्ञापनपत्र

मुक्त हलिया, कमैया, कमलरी तथा हरुवाचरुवाले आगामी आर्थिक वर्षको बजेटमा आफूहरूलाई पुनर्स्थापना गर्नका लागि बजेट विनियोजन गर्न माग गरेका छन् । आइतबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै मुक्त हलिया, कमैया, कमलरी तथा हरुवाचरुवाको प्रतिनिधि टोलीले आगामी आर्थिक वर्षको बजेटमा पुनर्स्थापनाका लागि बजेट विनियोजन गर्न माग गरेको हो ।

सरकारले पटक-पटक गरेर कमैया, कमलरी, हलिया र हरुवाचरुवालाई मुक्तिको घोषणा गरेको तर हालसम्म सरकारको नीति तथा कार्यक्रममा पुनर्स्थापनाको कार्यक्रम नराखेको भन्दै यस पटकको बजेटमा पुनर्स्थापनाको कार्यक्रम राख्न माग गरिएको मुक्त कमैया विकास मञ्च कैलालीका कार्यक्रम संयोजक इन्द्रजित चौधरीले बताए । उनले आगामी बजेट हरवाचरवाको पक्षमा आउनुपर्ने माग गरिएको उल्लेख गरे ।

ज्ञापनपत्रमा मुक्त कमैया, कमलरी, हलिया, हरुवाचरुवाको वस्तुस्थिति अध्ययन समितिले गरेका सिफारिसहरूलाई कार्यान्वयनमा ल्याउन माग गरिएको छ । त्यस्तै पुनर्स्थापनासम्बन्धी कार्यविधि पारित गर्न, हरुवाचरुवाको लगत संकलन गर्न र हरवाचरवा मिटरब्याजको समेत समस्यामा परेका कारण सो समस्याको पनि समाधान गर्न माग गरिएको छ ।

त्यसैगरी मुक्त कमैयाहरू हाल जुन भूमिमा छन् सोही जमिन नापी गरी लालपुर्जा दिनुपर्ने, कमैयाले प्राप्त गरेको जग्गा बैंकमा राखी ऋण लिन पाउने नीतिगत व्यवस्था गर्नुपर्नेलगायतका विभिन्न मागहरू राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *