धवलागिरि हिमालमा बेपत्ता एक जनाकाे शव ७ महिनापछि भेटियो
३० वैशाख २०८० १३:२७
धवलागिरि हिमालमा बेपत्ता भएका एक पर्यटक मजदुरको शव सात महिनापछि भेटिएको छ ।
पाँच हजार मिटर उचाइमा रहेको फ्रेञ्च पासमा भेटिएको शव आज घटनास्थलबाट पोखरा हुँदै काठमाडौँ ल्याइएकाे छ । उद्धारमा संलग्न म्याग्दी दानाका इन्द्रसिंह शेरचनले सिन्धुपाल्चोकको लिपा गाउँपालिका-१ का २७ वर्षीय देव लामाको शव भेटिएको जानकारी दिए ।
‘गत असोज २० गतेदेखि बेपत्ता लामाका आफन्तको अनुरोधमा खोजी गर्ने क्रममा हिउँले पुरिएको अवस्थामा शव भेटिएको छ,’ उनले भने, ‘नेपाली सेनाको हेलिकोप्टरले लामाको शव आजै काठमाडौँ लगेको छ ।’
शेरचनसहित सेनाका दुई जना, दुई जना शेर्पा र देवका काका सुनिल लामाको टोली फ्रेञ्च पासमा पुगेर शव ल्याएका हुन् । काठमाडौँको फोर सिजन ट्रेकिङ एजेन्सी कम्पनीमार्फत विदेशी पर्यटक लिएर धवलागिरि आधारशिविर पुगेका लामा बेपत्ता भएका थिए ।
प्रतिक्रिया