शीर्ष नेताहरूको भेटघाटलाई भुटानी शरणार्थी प्रकरणसँग नजाेडाैं : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले शीर्ष नेताहरूको छलफल र भेटघाटलाई नक्कली भुटानी शरणार्थी प्रकरणसँग जोडेर हेर्न आवश्यक नरहेको बताएका छन् । सिंहदरबारमा बुधबार शीर्ष नेताको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले शीर्ष नेताको छलफललाई लिएर आशंका गरिरहनु आवश्यक नभएको बताएका हुन् ।

‘मिडियामा जसरी तपाईंहरूले प्रचार गर्नुभएको छ, तीन जना नेताको भेट त्यस्तो होइन, हामीहरूको भेट बढी सदनलाई कसरी सञ्चालन गर्ने, समिति बनाउने विषयमा छलफल भएको हो,’ उनले भने । प्रधानमन्त्री दाहालले अगाडि भने, ‘नक्कली भुटानी शरणार्थी ठगीका विषयमा प्रहरीले जसरी अनुसन्धान अगाडि बढाएको छ, त्यसलाई कुनै अवरोध गर्न हुँदैन भन्नेमा शीर्ष नेताको सहमति रहेको छ ।’

प्रहरीले आफ्नो काम गरिरहेकाले यसमा कुनै शंका गर्नुपर्ने स्थिति नभएको उनको भनाइ छ । ‘आशंका गरिरहनु जरुरी छैन, हामीले प्रस्ट भाषामा भनेका छौँ, दोषी कोही नछुटोस्, निर्दोष कोही नपरोस्, प्रहरीले आफ्नो काम ठीक ढंगले गरोस् भनेर हामीले आदेश दिएका छौँ । प्रहरीले आफ्नो काम गरेको छ । यसकारण यो विषयमा द्विविधा हुनुपर्ने, आशंका गर्नुपर्ने कारण छैन,’ प्रधानमन्त्री दाहालले भने ।

सोसम्बन्धमा विधि विधान, नियम र पद्धतिअनुसार अनुसन्धान भएको जनाउँदै उनले प्रहरीले आफ्नो काम गरेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर