ठूला दलका नेताप्रति प्रकाशचन्द्र लोहनीको टिप्पणी- तिमीहरू लुटेराका छाउराहरू हौ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले ठूला दलका नेताहरूलाई ‘लुटेराको छाउरा’ को संज्ञा दिएका छन्।

आफूहरूलाई सामन्तवादका छाउरा भनेकोमा आपत्ति जनाउँदै उनले ठूला दलका नेताहरूलाई लुटेराको छाउरा भनी टिप्पणी गरेका हुन्।

आइतबार काठमाडौंमा आयोजित पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन एकताको प्रथम महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै पूर्वअध्यक्ष लोहनीले देशका लुटेराहरूलाई मास्ने काम आफ्नो पार्टीले गर्ने चेतावनीसमेत दिए।

उनले लुटेराहरुको विरुद्धमा आवाज उठाउन सक्ने, उनीहरूको भण्डाफोर गर्न सक्ने, महिला हिंसाविरुद्ध आवाज उठाउन सक्ने पार्टीको रूपमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई उभ्याउन पार्टीमा आबद्ध महिला नेतृत्वले काम गर्नुपर्ने बताए। पूर्वअध्यक्ष लोहनीले पार्टीको अडान र दृष्टिकोण संवैधानिक राजसंस्था र सनातन हिन्दू धर्म रहेको र यसमा आफूहरू दृढतापूर्वक लागिपर्ने पनि बताए।

उनले भने, ‘हामी हाम्रो पार्टीको अवधारणा, हाम्रो दृष्टिकोण संवैधानिक राजसंस्था, आलंकारिक राजसंस्था, सनातन हिन्दू पहिचान यसको बारेमा आस्थाको रूपमा हामी दृढ छौं। राष्ट्रिय प्रजातन्त्र पार्टी भनेको महिलाहरूको हितमा बोल्ने पार्टी हो। यो अन्यायको विरोधमा बोल्ने पार्टी हो। र यो देशका लुटेराहरूलाई मास्ने पार्टी हो यो भने आवाज निकाल्न सक्ने त्यो शक्ति, त्यो बिम्ब तपाईंहरूले प्रस्तुत गर्न सक्नु पर्दछ। अस्ति एक जना नेताले भनेका रहेछन नि यी पुराना सामन्तवादका छाउराहरू हुन् भनेका रहेछन। मलाई के भन्न मन ल्याग्यो भने तिमीहरू लुटेराका छाउराहरू हौ। त्योभन्दा बढ्ता केही होइनौ अहिले। यो देशलाई लुट्न आएका लुटेराका छाउराहरु हौ तिमीहरू। यसको बारेमा, यिनीहरूको क्रियाकलापको बारेमा बोल्ने पनि हाम्रो दायित्व हो। महिला हिंसाको विरुद्धमा राष्ट्रिय प्रजातन्त्र पार्टीले जहाँ भए पनि आवाज उठाउँछ।’

पूर्वअध्यक्ष लोहनीले योगमाया न्यौपाने नेपालमा महिला हकअधिकारबारे बोल्ने पहिलो महिला योद्धा भएको स्मरण गराउन उनको पथ अनुसरण गरेर अघि बढ्न पनि पार्टीका महिला नेता-कार्यकर्तालाई सचेत गराए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *