नेपाली युवाको कम्पनीलाई अमेरिकी राष्ट्रपति बाइडेनकाे सम्मान

अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकामा नेपाली युवाले सञ्चालन गरिरहेको कम्पनी साइनसिक्सलाई अवार्ड प्रदान गरेका छन्।

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइटहाउसमा यही मे १ मा आयोजित समारोहमा नेपाली मूलका राज के भण्डारी र श्रद्धा पौडेलले संयुक्त रुपमा सञ्चालनमा ल्याएको साइनसिक्स कम्पनीलाई राष्ट्रपति बाइडेनले सम्मान गरेका हुन्।

साइनसिक्सलाई अमेरिकाको ‘स्मल विजनेश एड्मिनिस्ट्रेशन’ले ‘एक्सपोर्टर अफ दि इयर-२०२३’ अवार्डबाट सम्मानित गरेको थियो। अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइटहाउसमा आयोजित एक कार्यक्रममा राष्ट्रपति वाइडेनले सो अवार्ड प्रदान गरेका थिए। सन् १९८५ मा स्थापना भएको उक्त कम्पनीको स्वामित्व भण्डारी र पौडेल समूहले सन् २०२१ मा ग्रहण गरेको थियो। हाल उक्त कम्पनीमा २६ जना कर्मचारी कार्यरत छन्। यो अवार्ड नेपाली मूलका अमेरिकीलाई पहिलो पटक प्रदान गरिएको हो।

अमेरिकामा साना तथा मझौला उद्योग तथा व्यवसायका रुपमा सञ्चालनमा आएका करिब तीन करोड ३१ लाख ८५ हजार कम्पनी रहेको तथ्यांक छ। यस्ता साना व्यवसायीले ६ करोड १७ लाख जनालाई रोजगारी दिएका छन्। कम्पनीको पुँजी र रोजगारीका आधारमा साना तथा मझौला उद्योगका रुपमा वर्गीकरण गर्ने गरिन्छ।

अमेरिकाको मिनासोटा राज्यमा कारखाना र साउथ क्यारोलिनामा रहेको प्रशासनिक भवनबाट सञ्चालित हुँदै आएको उक्त कम्पनीको अध्यक्ष भण्डारी छन् भने श्रद्धाले ‘एडभाइजर टु दि प्रेसिन्डेन्ट’ र ‘मेन्टर’ को जिम्मेवारी सम्हाल्छिन्। साउथ डकोटा स्टेट युनिभर्सिटीबाट विद्यावारिधि गरेका भण्डारीले हावर्ड स्कुल अफ पब्लिक हेल्थमा अनुसन्धान सहयोगीका रुपमा एक वर्ष कामसमेत गरेका थिए।

अवार्ड प्राप्त गरेपछि भण्डारी र पौडेलले ह्वाइटहाउसले व्यवसायीका रुपमा गरेको सम्मानबाट पहिलो नेपाली अमेरिकी बन्न पाउँदा आफ्नो कामले सफलता चुमेको टिप्पणी गरे। अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसको उपस्थितिमा सो समूह सम्मानित भएको थियो।

पौडेलले भने, ‘भेटका क्रममा राष्ट्रपति वाइडेनसँग केही संवाद पनि भयो। राष्ट्रपति वाइडेनसँग मैले म नेपालबाट आएको एक आप्रवासी हुँ र मैले अमेरिकी सपनालाई पछ्याउँदै आएको छु भनेँ, राष्ट्रपति बाइडेनले नेपालका बारेमा जान्दछु भन्नुभयो।’

राष्ट्रपति वाइडेनले आप्रवासीले अमेरिकी भूमिमा रोजगारी सिर्जना गर्नुका साथै व्यवसाय विस्तारमा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरेको पनि उनले जानकारी दिए। त्यस अवसरमा उपराष्ट्रपति कमला ह्यारीसले पनि आफूहरुलाई हौसला प्रदान गरेको जानकारी दिँदै आप्रवासीको सफलताको कथाले आफूलाई खुसी बनाएको बताएको भण्डारीले सुनाए।

कास्की जिल्लाको लामाचौरमा जन्मिएका भण्डारी सन् २००४ मा र श्रद्धा सन् २००५ मा विद्यार्थी भिसामा अमेरिका आएका हुन्। अठार वर्ष अमेरिकामा बसेर प्रविधिमा आधारित उत्पादन र वितरणसँग जोडिएर काम गर्दा आफूहरुले यो सफलता हासिल गरेको उनीहरुको भनाइ छ।

यो कम्पनीले औषधिको गुणस्तरमा परिमाणको मात्रा जाँच्नका लागि आवश्यक पर्ने उपकरणको मर्मतसम्भार गर्ने पार्टपुर्जा उत्पादन गर्ने गर्दछ। उक्त कम्पनीले ती पार्टपुर्जा अमेरिका र विश्वका एक सय देशमा निर्यात गर्दै आएको छ। -रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *