मौलाकाली केबलकार सञ्चालनले स्थानीय हर्षित
नवलपरासी जिल्लाको गैंडाकोटमा मौलाकाली केवलकार सञ्चालनमा आएसँगै स्थानीय हर्षित भएका छन्। गत वैशाख १ गतेदेखि मौलाकाली केवलकार सञ्चालनमा आएसँगै गैडाकोट नगरपालिका वडा १ का स्थानीयहरु मौलाकालीका मन्दिरको धार्मिक महत्व बढ्ने र स्थानीय स्तरमा रोजगारी बढ्ने भन्दै हर्षित भएका हुन्।
स्थानीयहरुले २ घण्टा हिँडेर जानुपर्ने मौलाकाली मन्दिरमा ५ मिनेटमा पुग्ने केवलकार बन्ने अपेक्षा नभए पनि अहिले आएर साकार हुँदा खुशी लागेको बताए। उनीहरुले केवलकार सञ्चालनमा आउँदा खुशी भए पनि केवलकार व्यवस्थापनले भाडादर कम गर्नुपर्ने बताए।
मन्दिरको बेसमा विगत २५ वर्षदेखि सामान्य टहरोमा पूजा सामाग्री व्यापार गर्ने व्यापारीहरुले टहरा व्यवस्थापन गर्दा व्यापार बन्द नहुने गरी वैकल्पिक व्यवस्था गरिनुपर्ने बताए।
मौलाकाली मन्दिर परिसरमा व्यापार गर्ने स्थानीय व्यापारी सुलभ कुमालले मौलाकाली केवलकार सञ्चालनमा आएसँगै पूजा सामग्रीमा व्यापारमा वृद्धि भएको बताए।
उनले पूजा सामग्रीमा व्यापार बढे पनि होटलमा भने व्यापार कम भएको बताए। उनले केवकार सञ्चालनमा आएसँगै मन्दिर दर्शन गर्न आउने वृद्धवृद्धाहरुलाई समेत सहज भएको बताए। उनले टहरोमा व्यापार गर्नुपरको भन्दै ठाउँ दिए आफैँ व्यवस्थित बनाउने बताए।
उनले विगत लामो समयदेखि व्यापार गरिरहेकाले मन्दिर परिसरमा नै व्यवस्थित तरिकाले व्यवसाय गर्न पाउनुपर्ने बताए।
स्थानीय विनिता महतोले मौलाकालीका केवलकार सञ्चालनमा आएसँगै खुशी र दुःखी दुवै भएको बताइन्। उनले केवलकार सञ्चालनमा आएसँगै विगत लोमो समयदेखि गर्दै आएको ठाउँ व्यवस्थित हुनुपर्ने बताइन्।
उनले मन्दिर परिसरका पसलहरु हटाउने कुराले दुःख लागेको बताइन्। उनले २० वर्षदेखि जीविको पार्जनको माध्यम पसलहरु भएको भन्दै उचित व्यवस्थापनसहित हटाउनुपर्ने बताइन्।
स्थानीय टीकाराम चापागाईंले केवलकारमा मौलाकाली मन्दिर जान पाइन्छ भन्ने आश नरहने पनि अहिले केवलकार चढेर मन्दिर जान पाउँदा खुशी लागेको बताए।
उनले गैडाकोटको जङ्गलमा केवलकारको विकास हुँदा अचम्म लागेको बताए। उनले ८० वर्षको उमेरमा घरमा नै खुम्चिएर बस्नुभन्दा केवलकार चढेर मन्दिर दर्शन गर्न पाउँदा खुशी भएको बताए। उनले ८० वर्ष माथिका बुढाबुढीहरुलाई छुट रहेको भन्दै छुट पाएर केवलकार चढेको बताए।
स्थानीय गंगाधर सापकोटाले गैडाकोटमा केवलकार बन्द यहाँका स्थानीयहरु सबै खुशी रहेको बताए। उनले केवलकार बनेसँगै पसल, जग्गा जमिनको समेत मूल्य बढेको बताउनु भयो। उहाँले केवलकार चढ्न सवारी साधन लिएर आउनेहरुको लागि पार्किङ शुल्क तिर्नुपर्ने भन्दै केवलकार आफैँले बनाई दिनुपर्ने बताए।
उनले मौलाकाली केवलकारको दूरी छोटो दर भाडादर महँगो भएको गुनासो आएको भन्दै मिलेसम्म कम गर्नुपर्ने बताए। त्यस्तै,अर्का स्थानीय अटो व्यवसायी समिर परियारले केवलकार सञ्चालनमा आएसँगै अटो सञ्चालनमा सहज भएको बताए।
उनले केवलकार सञ्चालन हुनुभन्दा पहिला अटोमा कमाई थोरै थियो तर अहिले दैनिक २ हजारसम्म बचाउन सकिएको बताए।
केवलकार प्रयोग गरी मन्दिर दर्शन गर्न जाने यात्रुहरुले पनि विगतमा दुईचार घण्टा लाग्ने गरेकोमा केवलकारले सहज बनाएको हेम गौतमले बताए।
उनले केवलकार जस्ता भौतिक संरचनाहरु बन्नु पर्यटकीय हिसावले राष्ट्रको लागि गौरवको विषय भएको बताए। त्यस्तै अर्का केवकार यात्रु ऋषि पौडेलले विगतमा मन्दिर दर्शन गर्न आउँदा समय छुट्याउने पर्ने भए पनि केवलकार बनेसँगै समयको बचत भएको बताए।
मौलाकाली केवलकारको गत १८ गते प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेका थिए। उद्घाटनभन्दा पहिला गत वैशाख १ गतेदेखि सञ्चालनमा आइसकेको छ। केवलकार सञ्चालनमा आएसँगै मन्दिर दर्शन तथा मनोरञ्जनको लागि आउने आन्तरिक तथा वाह्य पर्यटक वृद्धि हुने अपेक्षा स्थानीयहरुको रहेको छ।
प्रतिक्रिया