‘ए’ डिभजिन लिग : फ्रेण्ड्स चर्च ब्वाइजसँग स्तब्ध

शुरुआती अग्रतालाई उल्टाउँदै स्टार खेलाडीले भरिएको चर्च व्वाईज युनाईटेड राजधानीमा जारी शहीद स्मारक ए डिभजिन लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा बुधवार भएको खेलमा फ्रेन्ड्स क्लवलाई २–१ गोल अन्तरले पराजित गर्दै जारी लिगको दोस्रो स्थानमा उक्लिएको हो । निकै रोमाञ्चक बनेको खेलमा फ्रेण्ड्सले १४ औं मिनेटमा अग्रता लिएको पनि अन्तिम तीन मिनेट सम्म सम्हालिएको प्रदर्शन गर्न नसक्दा चर्च व्वाईजलाई नतिजा सुम्पिएको हो । यससँगै फ्रेण्ड्सले दोस्रो राउण्डमा हारबाट लिगको आरम्भ गरेको छ भने चर्च व्वाईजले जितबाट शुरु गरेको छ ।

प्रतिष्पर्धात्मक बनेको खेलमा फ्रेण्ड्सका बेन क्वान्साले १४औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । मैदानको दायाँ भागमा प्राप्त फ्रिकिकमा डोना थापाले प्रहार गरेको बललाई क्वान्साले हेडरमार्फत जाली चुमाउन सफल भएका थिए । वर्षाका कारण हिलाम्मे मैदानमा दुवै टोली बाकी समय थप गोलका लागि प्रयास गरिरहे । खेलको अन्त्य तिर फ्रेण्ड्सका डिफेन्डरले रञ्जीत सिंह पाण्डेलाई पेनाल्टी क्षेत्रमा लडाएपछि चर्च ब्वाईजले पेनाल्टीको अवसर पाएको थियो । अञ्जन बिष्टले पेनाल्टी अवसरलाई सहजै गोलमा परिणत गर्दै खेल बराबरीको अवस्थामा ल्याएका थिए । त्यसपछि झन आक्रामक देखिएको फ्रेण्ड्स अगाडि बढेको मौकामा चर्च ब्वाईजले इन्जुरी समयमा गोल थप्यो । मौसम सुब्बाले पेनाल्टी बक्स बाहिरबाट उपलब्ध गराएको पासलाई आशिष चापागाईले फ्रेन्ड्सका दुई डिफेन्डरलाई विट गर्दै टोलीलाई स्पष्ट तीन अंक दिलाउन सफल भएका हुन् ।

यससँगै चर्च ब्वाईजले जारी लिगमा छैठौं जित निकालेको छ । १४ खेलबाट २४ अंक जोडेको चर्च ब्वाईज गोल अन्तरमा शीर्ष स्थानको जावलाखेल भन्दा एक स्थान मुनि रहेको हो । यस्तै पराजित फ्रेन्ड्स जारी लिगमा सातौ हार भोगेको छ । समान १४ खेल खेलेको फ्रेण्ड्स १५ अंकका सात १३ औं स्थानमा छ ।

लिगअन्तर्गत च्यासल मैदानमा बुधबार नै भएको अर्को खेलमा हिमालयन शेर्पाले सातदोबाटो युथ क्लवलाई १–० गोल अन्तरले स्तब्ध बनायो । हिमालयनको जितमा खामिर गिल्सनले निर्णायक गोल गरे ।

निकै रोमाञ्चक बनेको खेलमा दुबै टोलीले पहिलो हाफ गोल रहित बराबरी खेलेका थिए । दोस्रो हाफमा भने आक्रामक देखिएको हिमालयन शेर्पाले सातदोबाटोमाथि दबाब दिएर खेलेको थियो । सो क्रममा खेलको ६५ औं मिनेटमा गिल्सनले निर्णायक गोल गरेका हुन् । पिस्टन मुटुम्बाको पासमा डिबक्सको ठिक बाहिरबाट गिल्सनले टोलीका लागि अग्रता दिलाएका थिए । सोही अग्रता नै स्पष्ट तीन अंक जोड्नका लागि पर्याप्त भएको हो ।

यससँगै जारी लिगमा हिमालयन शेर्पाले चौथो जित निकालेको छ । शेर्पाले १४ खेलमा १७ अंक जोड्दै आठौं स्थानमा उक्लिएको छ । उता अनपेक्षित नतिजा भोगेको सातदोबाटोले शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ । यससँगै सातदोबाटोले जारी लिगमा चौथो हार भागेको छ । समान १४ खेल खेलेका सातदोबाटोको २२ अंकका सात तालिकाको चौथो स्थानमा छ ।

लिगमा बिहीबार दुई खेल हुनेछन् । दिनको पहिलो खेल एन्फा कम्प्लेक्समा विभागीय टोली एपिएफ र न्युरोड टिम (एनआरटी) तथा दोस्रो खेल दशरथ रंगशालामा मच्छिन्द्र र संकटाबीच प्रतिस्पर्धा हुनेछ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *