ओलीको प्रश्न- केही गर्न नसक्ने सरकार किन सरकारमा बसिरहेको छ?

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले केही पनि गर्न नसक्ने दाबी गरेका छन्।

अध्यक्ष ओलीले नेपाली जनताले पाएको उपलब्धिविरुद्ध विभिन्न प्रकारका शक्तिहरू सल्बलाउन थाल्दा पनि सरकार गम्भीर नभएको आरोप लगाए।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले केही गर्न नसक्ने सरकार किन सरकारमा बसिरहेको छ भनी प्रश्न गरे। उनले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै दुलोबाट मुसाले बिरालो हेरेजसरी अनुकूल परिस्थितिको खोजी गरिरहँदा पनि सरकारले भने निरीहता मात्रै प्रकट गरिरहेको बताए।

ओलीले सिंहदरबारको फोहोर काठमाडौं महानगरपालिकाले उठाउँदिन भन्दा सरकारले त्यसको जवाफ दिन नसकेको भन्दै आक्रोशसमेत व्यक्त गरे। सिंहदरबारको फोहोर काठमाडौं महानगरपालिकाले उठाउने नगरेको तथ्य जनतालाई भन्न पनि सरकारले नसकेको उनले बताए।

अध्यक्ष ओलीले शहरी विकास मन्त्रालयले सिंहदरबारको फोहोर उठाउने काम ठेक्कामा दिएको तर ठेकदारले काम नगरेको उल्लेख गर्दै सरकार र ठेकदारबीचको सम्बन्धबारे खोजी गर्नुपर्ने अवस्था आएको बताए।

उनले भने, ‘हामी नेपाली जनता यतिबेला गम्भीर हुनुपर्ने अवस्थामा आएका छौं। अहिले चौंतर्फी ढंगले अनेक प्रकारका तत्त्वहरू अनेक प्रकारले लोकतन्त्रका विरुद्ध, जनताले पाएका अधिकारहरूको विरुद्ध सक्रिय भएर सल्बलाउन थालेका छन्। कोहीकोही दुलाबाट फुत्त निस्केला कि जस्तो गरेर दुलोबाट मुसोले बिरालो हेरेजसरी अनुकूल स्थिति आयो कि आएन भनेर यसो हेर्न थालेका छन्। नेपाली जनता सजग हुनुपर्दछ।’

ओलीले श्रमिकहरूबीच फाटो ल्याउने प्रयास फेरि पनि भइरहेको उल्लेख गर्दै त्यसलाई निस्तेज पारेर अघि बढ्न सबै मजदुरहरूलाई एकताबद्ध हुन आह्वान गरे। मजदुरको हकहित र उनीहरूको जायज माग सम्बोधन गर्न उनीहरूबीचको एकता सबैभन्दा ठूलो बल भएको उनले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर