आईपीपीएफका महानिर्देशक डा. बर्मेजो काठमाडौंमा, यस्ताे छ भ्रमण तालिका

अन्तर्राष्ट्रिय परिवार नियोजन महासंघ (आईपीपीएफ) का महानिर्देशक डा. अल्भारो बर्मेजोले परिवार नियोजन तथा मातृ स्वास्थ्य र यौन तथा प्रजनन स्वास्थ्य सेवाका क्षेत्रमा नेपाल परिवार नियोजन संघले पुर्‍याएको योगदानको उच्च प्रशंसा गरेका छन्।

पाँच दिने भ्रमणमा आइतबार साँझ नेपाल आइपुगेका उनले आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘यस्तो सेवा विपन्न समुदायसम्म पुर्‍याउनुपर्छ। महासंघले नेपाललाई प्रदान गर्दै आइरहेको आर्थिक एवं प्राविधिक सहयोग निरन्तर जारी रहनेछ।’

महानिर्देशक डा. बरमेजोले यौन तथा प्रजनन स्वास्थ्यमा लगानी बढाउन नेपाल सरकारसँग आग्रह गर्दै बृहत्तर यौनिकता शिक्षालाई समुदायस्तरमा पुर्‍याउन सुझाव दिए। मूलतः गरिब, सिमान्तकृत, सामाजिक रूपले बहिष्कृत, अल्पसंख्यक र सेवाको पहुँचबाट पछाडि पारिएका वर्ग र व्यक्तिमा परिवार नियोजन तथा यौन तथा प्रजनन स्वास्थ्य सेवाको पहुँच बढाउन महासंघले विश्वभर आफ्ना सदस्य संघमार्फत महासंघले लगानी गर्दै आएको उले जानकारी दिए।

उनले आजै संघद्वारा सञ्चालित ‘हर्मोनल तथा लेजर थेरापी’ क्लिनिकको निरीक्षणसमेत गरेका थिए। कार्यक्रममा संघका अध्यक्ष हिमालय लाल कसजु र व्यवस्थापक डा. नरेशप्रताप केसीले संघका गतिविधिबारे जानकारी दिएका थिए।

महासंघका उच्च नेतृत्वबाट यो तहको दोस्रो पटक नेपाल भ्रमण भक्एाे हाे। भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग महानिर्देशक डा. बर्मेजोकोे द्विपक्षीय भेटघाट गर्ने कार्यक्रम छ। पाँच दिने नेपाल भ्रमणका क्रममा महानिर्देशक डा. बर्मेजोले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उच्च पदस्थ नेतृत्वसँग नेपालमा यौन तथा प्रजनन स्वास्थ्य सेवाका बारेमा परामर्श गर्नेछन्।

यसैगरी भ्रमणको क्रममा उनले संघका केन्द्रीय पदाधिकारी, उच्च व्यवस्थापन तथा युवा सदस्यसँग पनि भेटवार्ता एवंं संघद्वारा सञ्चालित कार्यक्रमका बारेमा जानकारी लिनेछन्। सोही क्रममा उनले मोरङको विराटनगरस्थित संघको शाखा कार्यालय, सुनसरी इटहरीस्थित संघको परिवार स्वास्थ्य सेवा केन्द्रको स्थलगत अवलोकन गर्ने कार्यक्रम रहेको छ।

महानिर्देशक डा. बर्मेजोले भ्रमणका दौरानमा संघका साझेदारी संघसंस्था, दातृनिकाय, सञ्चारकर्मी तथा अल्पसंख्यक समुदायका प्रतिनिधिसँग भेटवार्ता गर्नेछन्।

महासंघ यौन तथा प्रजनन स्वास्थ्य अधिकारका क्षेत्रमा कार्य गर्ने सबैभन्दा ठूलो विश्वव्यापी सञ्जाल भएको सस्था हो। महासंघमा विश्वका एक सय ४२ देशका परिवार नियोजन संघ आबद्ध छन् । नेपाल परिवार नियोजन संघ पनि उक्त महासंघको सदस्य संघ हो।

संघले सन् १९६० मा यस महासंघको अस्थायी सदस्यता तथा सन् १९६९ मा पूर्णकालीन सदस्यता प्राप्त गरेको थियो। सदस्यता प्राप्त गरेदेखि नै संघले परिवार नियोजन तथा मातृ स्वास्थ्य र यौन तथा प्रजनन स्वास्थ्य सेवाका क्षेत्रमा कार्य गर्नका लागि नियमित वार्षिक रूपमा उक्त महासंघबाट आर्थिक तथा प्राविधिक सहयोग प्राप्त गर्दै आइरहेको छ।

हाल संघले विभिन्न ३४ जिल्ला तथा तीन सय ५० पालिकामा यौन तथा प्रजनन स्वास्थ्य, परिवार योजना र महिला स्वास्थ्यसँग सम्बन्धित विभिन्न क्लिनिकल सेवा तथा प्रवर्द्धनात्मक सचेतना प्रदान गरिराखेको छ। परिवार योजना सेवामा संघको राष्ट्रिय योगदान तथा सीमान्तकृत तथा जोखिममा रहेका समुदायको पहुँचमा प्रजनन स्वास्थ्य सेवा पुर्‍याउन संघले गरेको योगदान उल्लेखनीय रहेको छ।

संघका कुल सेवाग्राहीमध्ये ८८ प्रतिशत सेवाग्राही सीमान्तकृत तथा जोखिम समुदायका रहेका छन्। कोरोना महामारीका बीचमा पनि संघले सन् २०२१ मा लगभग ३६ लाख सेवा आफ्ना क्लिनिकमार्फत प्रदान गरेको थियो।

यसैगरी संघले पछिल्लो समयमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको संविधान प्रदत्त हक संरक्षण गर्न ‘हर्मोनल तथा लेजर थेरापी’ सेवा सञ्चालनमा ल्याएको छ। साथै टेष्ट्युब बेबी तथा बाँझोपन उपचार सेवा पनि सञ्चालनमा ल्याएको छ।

महानिर्देशक डा. बर्मेजोको नेपाल भ्रमणले नेपालमा परिवार नियोजन सेवा तथा यौन तथा प्रजनन स्वास्थ्यको क्षेत्रमा सकारात्मक योगदान पुग्ने अपेक्षा संघले गरेको छ। महासचिवको भ्रमणले नेपालको दुर्गम क्षेत्रमा बसोवास गर्ने तथा सेवाको पहुँचबाट वञ्चित सेवाग्राहीमा सेवाको पहुँच बढाउन तथा उनीहरूको प्रजनन स्वास्थ्यको अधिकारलाई स्थापित गर्नका लागि सहयोग पुग्ने अपेक्षा गरिएकाे छ।

प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको तत्कालीन मन्त्रिमण्डलमा महिला सहायकमन्त्री द्वारिकादेवी ठकुरानीले नेपाल परिवार नियोजन संघको स्थापना गरेकी थिइन्।

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर