रास्वपाले समर्थन फिर्ता लिँदैन, सरकारमा सहभागिताबारे छलफल चलिरहेको छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आफ्नो नेतृत्वको सरकारमा आउने विश्वास व्यक्त गरेका छन्।

प्रेस सेन्टर नेपाल चितवनले आज आयोजना गरेको ‘पत्रकारसँग प्रधानमन्त्री कार्यक्रम’ मा उनले रास्वपा सरकारमा सहभागी हुने विषयमा कुराकानी चलिरहेको जानकारी दिए। प्रधानमन्त्री दाहालले भने, ‘रास्वपाले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिँदैन। सो पार्टी पनि सरकारमा आउने कुरा चलिरहेको छ।’

रास्वपाले पहिलाका मन्त्रालय माग्नु अस्वाभाविक नभएको जनाउँदै उनले यसैमा रास्वपा अडिन्छ भन्ने आफूलाई नलागेको बताए।

सत्ता साझेदार दलका बीचमा सरसल्लाह गरेर सहमतिमा जाने प्रधानमन्त्री दाहालले बताए। रास्वपालाई अहिले नै मन्त्रालय छाड्ने विषयमा आफूहरू नपुगेको उनले स्पष्ट पारे। प्रधानमन्त्री दाहालले भने, ‘रास्वपका अध्यक्ष रविजीले पनि हामीलाई यही नै चाहिन्छ भन्नुभएको छैन। छलफलकै क्रममा भएकाले केही छैन।’

सञ्चारकर्मीको एक प्रश्नको जवाफमा उनले सरकार पाँच वर्ष चल्ने बताए। उनले भने, ‘सरकार पाँच वर्ष चल्छ। यताउता हुन्छ कि भन्ने भ्रम हो।’

आफ्नो निवास शिवनगरमा आयोजना गरिएको सो कार्यक्रममा प्रधानमन्त्री दाहालले खुलेर पत्रकारसँग कुराकानी गरेका थिए। सो क्रममा उनले महावीर पुन आफूसँग सल्लाहा नै गरेर माइतीघर मण्डलामा बसेको बताए। बस्नुअघि आफूसँग बालुवाटारमा भेटेको जनाउँदै उनले पुनले उठाएका मागप्रति सरकार सकारात्मक रहेको बताए।

प्रधानमन्त्री दाहालले भने, ‘भेटमा मैले बजेटमा तपाईंको माग सम्बोधन गर्न पूरै प्रयास हुन्छ भने हिँड्ने समयमा उहाँले माइतीघर मण्डलामा बस्छु है कस्तो हुँदो रहेछ भन्नुभयो हाँसीहाँसी।’

बस्नोस् त भन्न मिल्दैन बस्नुभयो भने मलाई बजेट बनाउन सजिलै हुन्छ भनेर आफूले भनेको उनले जानकारी दिए। प्रधानमन्त्री दाहालले थपे, ‘यसकारण सरकारले वास्ता गरेन भन्ने झुटो कुरा हो। मैले बुझ्दा त सल्लाहामा नै उहाँ बसेको भन्ने बुझेको छु।’ पुनले विकास बजेटको एक प्रतिशत बजेट छुट्याउन अनुरोध गरेको पनि उनले बताए।

पूर्वलडाकुलाई रकम दिने विषय वि.सं. २०७१ को सरकारले गरेको निर्णय भएको उनले बताए। तत्कालीन समयमा अर्थमन्त्री विष्णु पौडेल रहेको र कांग्रेस एवं एमाले सरकारमा रहँदा छलफल भएर टुंगिएको विषय भएको प्रधानमन्त्री दाहालले जानकारी दिए। तत्कालीन समयमा सर्वोच्च अदालतमा मुद्दा परेका कारण रोकिएको र अहिले दिन मिल्ने गरी फैसला भएकाले रकम दिन लागिएको बताए।

आर्थिक समस्याका कारण किस्ताबन्दीमा लडाकुलाई रकम दिने विषयमा छलफल भइरहेको प्रधानमन्त्री दाहालले बताए।

उनले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको आक्रमणमा सत्तारूढ दल लागेको भन्ने कुरा असत्य भएको बताए। उनले भने, ‘तत्कालीन राजा र तिनका समर्थक भन्ने छ त्यो गम्भीर विषय हो।’

अर्को एक प्रश्नमा खेलकुद क्षेत्रको विकासमा सरकारले प्राथमिकता दिएको उनले बताए। सरकारले कृषि उत्पादन, रोजगारी र युवा लक्षित कार्यक्रमलाई बजेटमा जोड दिने पनि बताए।

सो अवसरमा दाहालले प्रेस सेन्टर चितवनले प्रकाशन गरेको क्यालेन्डरको लोकार्पण गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर