पूर्वराष्ट्रिय फुटबल खेलाडी शाह गृहजिल्ला बाँकेमा सम्मानित
पूर्वराष्ट्रिय फुटबल खेलाडी विवेकजंग शाह (मेम्बर अफ ब्रिटिश एम्पायर) गृहजिल्ला बाँकेमा सम्मानित भएका छन्। उनलाई शुक्रबार बाँके जिल्ला फुटबल संघले सम्मान गरेको हो।
नेपालगञ्जमा अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य भोजराज शाही, बाँके जिल्ला फुटबल संघका महासचिव कमल खत्री, फुटबल प्रशिक्षक सानु तामाङ, रवीन्द्र श्रेष्ठलगायतले शाहलाई सम्मान गरेका हुन्।
नेपालगञ्जबाट फुटबल करियर सुरु गरेका शाहले २०५४ सालमा नेपालको यू-१६ फुटबल टिम, नेपालगञ्ज-११ टिम र अन्य विभिन्न क्लबबाट व्यावसायिक फुटबल खेलेका थिए। शाह अहिले बिट्रिश आर्मीमा क्याप्टेनका रूपमा कार्यरत छन्। शाहले भारतको बहराइचमा भएको स्टेटस्तरको फुटबल प्रतियोगितामा निर्णायक गोल गर्दै नेपालगञ्ज-११ लाई उपाधि दिलाएका थिए।
नेपालगञ्ज उपमहानगरपालिका-४, देवाफूलबारीका शाहले सन् २००१ मा भएको तत्कालीन राजा वीरेन्द्रको जन्मोत्सवमा हुने बर्थडे कपमा नेपालगञ्ज-११ को तर्फबाट जावलाखेल फुटबल क्लबलाई हराएर क्वार्टरफाइनलमा पुग्दा निर्णायक गोल गरेका थिए। नेपालगञ्जलाई आधा दर्जन महत्त्वपूर्ण प्रतियोगितामा सफलता दिलाउने खेलाडीमा पर्छन् शाह।
फुटबल करियरमा बाँके जिल्लाको प्रतिष्ठालाई बढाउने काम गरेकाले यस क्षेत्रका लागि विवेक प्रतिष्ठित व्यक्ति भएको एन्फा केन्द्रीय सदस्य भोजराज शाहीले बताए। उनले भने, ‘विवेक बाँके जिल्लाको फुटबल इतिहासमा एउटा उदाहरणीय खेलाडी हुन्। उनले बेलायतमा गएर पनि आफनो देश र जिल्लालाई गर्व हुने सफलता हासिल गरेका छन्। एउटा खेलाडीले यो स्तरमा सफलता प्राप्त गर्नु फुटबल परिवारका निम्ति गर्वको विषय हो।’
शुक्रबार बाँके जिल्ला फुटबल संघका पदाधिकारी र पूर्वराष्ट्रिय खेलाडी शाहका बीच बाँकेको फुटबल विकास गर्ने बारेमा छलफल भएको छ। नेपालगञ्जमा आउँदा फुटबल संघका पदाधिकारीहरूसँग भेट्न पाउँदा खुसी लागेको शाहले बताए।
उनले भने, ‘यो न्यानो आतिथ्य र सम्मानका लागि बाँके जिल्ला फुटबल संघलाई धन्यवाद दिन चाहन्छु। फुटबल मलाई मन पर्ने खेल हो। यसको विकासका लागि म सक्दो सहयोग गर्छु। विशेष गरी नयाँ बालबालिकालाई फुटबल खेल्न प्रेरित गर्नुपर्छ। यस्तो अभियानमा संघले योजना बनाएको कुरा थाहा पाउँदा खुसी लाग्यो। फुटबलको विकासमा सबैको सहकार्य र समन्वय आवश्यक छ।’
बाँके जिल्ला फुटबल संघले चौथो नेपालगञ्ज गोल्डकप र बालबालिकाहरूका लागि ग्रासरुट फुटबल प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेको छ। त्यसमा शाहले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
सम्मान कार्यक्रममा ब्रिटिश आर्मी समीर मल्ल, बाँके जिल्ला फुटबल संघका सदस्य ईश्वर चन्दको पनि उपस्थिति रहेको थियो।
प्रतिक्रिया