बैंकमा खराब कर्जा बढेसँगै अर्थतन्त्रमा थप चुनौती थपियाे : उपाध्यक्ष कोइराला

नेपाल बैंकर्स संघका उपाध्यक्ष तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले बैंकमा खराब कर्जा बढेकाले मुलुकको अर्थतन्त्रमा समेत थप चुनौती थपिएको बताएका छन् ।

कोइरालाले अघिल्लो असार महिनामा १.२ प्रतिशत रहेको बैंकहरुको खराब कर्जा (एनपीए) अहिले बढेर ३.००८ प्रतिशतमा पुगेको बताए । मुलुकका ५ वटा बैंकको मुनाफा घटेको तथा ३२ अर्ब बढीको कर्जा प्रवाह र २० अर्बको हाराहारीमा ब्याज उठ्न नसकेको देखिएकाले आगामी दिनमा देशको अर्थतन्त्र वा बैंकिङ क्षेत्रले थप चुनौती भोग्नुपर्ने अवस्था देखिएको उनले बताए ।

उपाध्यक्ष कोइरालाले पछिल्लो समय बैंकहरूको निष्क्रिय कर्जाको ब्याजदरसमेत बढ्दै गएको बताए । बैंक तथा वित्तीय क्षेत्रविरुद्ध भइरहेको अराजक आन्दोलनले अझ चुनौती बढेको भन्दै सरकारले तत्काल बैंकविरुद्धको अराजक आन्दोलन रोक्नुपर्ने उनले माग गरे ।

चालु आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाहरूको करिब २५ देखि ३० प्रतिशत नाफा घट्ने दाबी गर्दै कोइरालाले पछिल्लो समय बैंकहरूले धेरै नाफा कमाए भनेर चित्रण गरे जस्तो वास्तविकता नभएको स्पष्ट पारे । समग्र विश्व बैंकिङ उद्योगको मुनाफा ८ प्रतिशत र ५० प्रतिशत बैंकहरूले लागत कस्टभन्दा पनि कम नाफा गरिरहेको अवस्था रहेको उनको दाबी छ ।

पछिल्लो आर्थिक वर्षमा नेपालका बैंकहरुले ११ प्रतिशत मुनाफा रहेको भन्दै अन्य उद्योगहरुको तुलनामा बैंकिङ उद्योगको नाफा कम रहेको उनले बताए । पछिल्लो समय नेपालको कर्जा प्रवाह जिडिपी ग्रोथभन्दा बढी भएको कारण राष्ट्र बैंकले कर्जा नियन्त्रण गर्ने नीति लिएको उनको भनाइ छ ।

भारतमा जिडिपी र कर्जा बिस्तारको वृद्धि ५५ प्रतिशतको हाराहारीमा देखिँदा नेपालमा ९९ प्रतिशतको रेसियोमा रहेको बताउँदै उपाध्यक्ष कोइरालाले अहिले बैंकिङ उद्योगमा ५४.४७ खर्ब निक्षेप संकलन र ४८.४४ खर्ब कर्जा प्रवाह भइरहेको जानकारी दिए ।

चालू आर्थिक वर्षको वैशाख महिनासम्ममा २९८ अर्ब (५.४७ प्रतिशत) निक्षेप र १४७ अर्ब (३.३० प्रतिशत)ले कर्जा बढेको उनले बताए । पछिल्लो चालू आर्थिक वर्षमा निक्षेप संकलन ४१९ अर्ब (९ प्रतिशत) र कर्जामा ५३८ अर्ब (१४.५ प्रतिशत) रहेको उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *