राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पाको ३० औं स्मृति दिवस मनाइयो

राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पाको ३० औं स्मृति दिवस मनाइएको छ । काठमाडौंसहित देशभरका विभिन्न स्थानमा आज ३० औं पासाङ ल्हामु स्मृति दिवस मनाइएको हो । काठमाडौंको चुच्चेपाटीस्थित पासाङ ल्हामु शेर्पाको शालिकमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गरी ३० औं स्मृति दिवस मनाइएको छ ।

स्मृति दिवसको अवसरमा पासाङ ल्हामु प्रतिष्ठानकी अध्यक्षसमेत रहेकी राष्ट्रिय विभूति शेर्पाकी छोरी आङ फुटी शेर्पाले शालिकमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गर्दै संसारभरका महिलाका लागि पासाङ ल्हामु प्रेरणाको स्रोत भएको बताइन् ।

उनले फाउण्डेशनको तर्फबाट पनि हिमाल आरोहणको चाहना राख्ने महिलालाई आवश्यक सहयोग गरिरहेको र राज्यले पनि यस्ता सहयोगका कार्यमा थप अग्रसरता देखाउन आवश्यक रहेको बताइन् । उनले सरकारले देशमा नै हिमाल आरोहीलाई सम्मान गर्नुपर्ने बताइन् ।

उनले भनिन्, ‘उहाँले संसारभरका महिलालाई साहसरूपी प्रेरणा दिनुभएको थियो । हामीले हिमाल आरोहणमा चाहना गर्ने महिलालाई फाउण्डेशनको तर्फबाट सहयोग गरिरहेका छौं । राज्यले पनि त्यसमा अझै सहयोग गरिदिनुपर्छ, जो महिलाहरू चाहना राख्नुहुन्छ तर विविध कारणवश हिमाल आरोहणलगायतका गतिविधि गर्न सकिरहनु भएको छैन, उहाँहरूलाई राज्यले हेर्नुपर्छ । आरोहीहरूलाई बाहिर देशमा सम्मान होइन, आफ्नै देशमा सम्मान गर्न सक्नुपर्छ ।’

त्यस्तै पासाङ ल्हामु प्रतिष्ठानकी वरिष्ठ उपाध्यक्ष लाक्पा फुटी शेर्पाले पासाङ ल्हामु शेर्पाका सपनाहरू आज आएर साकार भइरहेको देख्न पाउँदा खुसी लागेको बताइन् । उनले पासाङ ल्हामु शेर्पाले देशका लागि केही गर्छु भन्ने भोक रहेको र उनको आत्मविश्वासलाई देखेर नै आजका महिलाहरूमा थप काम गर्ने इच्छा, चाहना र प्रेरणा प्राप्त भइरहेको बताइन् ।

उनले भनिन्, ‘उहाँको देशका लागि, समुदायका लागि केही गर्छु भन्ने सपना थियो, त्यो अहिले पनि जीवित रहेको छ जस्तो लाग्छ । उहाँको सपना देशका लागि केही गर्छु भन्ने थियो, त्यो सपना आज साकार भइरहेको छ । उहाँको आत्मविश्वास देखेर अहिलेसम्म ७० बढी महिलाहरूले हिमाल आरोहण गरिसक्नुभएको छ ।’

त्यस्तै पूर्वमन्त्री कृपाशुर शेर्पाले पासाङ ल्हामु शेर्पाको स्मृति दिवस इज्जत, प्रतिष्ठा र गौरवको रूपमा मनाइएको बताए । उनले उनको जीवनीले नयाँ पुस्तालाई उत्साह, जोश जाँगर प्रदान गर्ने बताए ।

उनले भने, ‘साहसी पर्यटन प्रवर्द्धनको क्षेत्रमा नेपाली नारीले विश्व रेकर्ड जुन कायम गर्नुभएको छ, यसमा इज्जत, प्रतिष्ठा र गौरवको दिनमा आजको दिन मनाउने गरिएको छ । यसले नयाँ पुस्तालाई उत्साह, जोश जाँगर प्रदान गर्छ ।’

त्यस्तै खुम्बु पासाङ ल्हामु गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरी शेर्पाले पासाङ ल्हामु शेर्पाको कदरका लागि गाउँपालिकामा संग्रहालय बनाउन लागेको बताए । उनको नाममा विभिन्न कोषहरूको स्थापना गरी आवश्यक परेकाहरूलाई सहयोग गर्नेतिर पनि गाउँपालिकाले योजना बनाइरहेको बताए ।

पासाङ ल्हामु शेर्पा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने प्रथम नेपाली महिला हुन् । उनले २०५० साल वैशाख १० गते सगरमाथाको सफल आरोहण गरेकी थिइन् । त्योभन्दा पहिला तीन पटकसम्म सगरमाथा चढ्ने प्रयास असफल भएको थियो । सगरमाथाको शिखरबाट श्रीमान सोनाम छिरिङसँग फर्कने क्रममा उनको निधन भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर