एसीसी प्रिमियर कप क्रिकेट : साउदी अरेबिया र कुवेत विजयी

एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएका खेलमा साउदी अरेबिया र कुवेत विजयी भएका छन् । साउदी अरेबियाले कतारलाई सात विकेटले तथा कुवेतले बहराइनलाई दुई विकेटले पराजित गरेको हो ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कतारले निर्धारित ५० ओभरको खेलमा ४९ दशमलव पाँच ओभर खेल्दै सवै विकेट गुमाएर दुई सय १६ रन बनायो । दुई सय १७ रनको लक्ष्य साउदी अरेबियाले ३४ दशमलव दुई ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍याे । साउदीका लागि अब्दुल वाहिदले शतकीय पारी खेले । उनले एक सय आड बलमा एक सय २४ रन बनाए । यस्तै वकार उल हसनले ५५ तथा हिसम शेखले अविजित २१ रन बनाए । बलिङतर्फ कतारका लागि इक्रमुल्लाह खानले दुई तथा खुरम शाहजादले एक विकेट लिए ।

यसअघि ब्याटिङ गर्दै कतारका लागि मोहमद तनवीरले ४६, कमरान खानले ३६, इमाल लियाङ्गेले ३१ तथा मोहमद रिजलानले २८ रन बनाए । बलिङतर्फ साउदीका इश्तियाक अहमदले चार तथा अतिफ उर रहमान, जैन उल अवीदिन र अहमद बलादर्फले दुई दुई विकेट लिए ।

यसैगरी मूलपानी क्रिकेट मैदानमा भएको अर्को खेलमा टस हारेर बहराइनले पहिला ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा सात विकेट गुमाएर दुई सय ५५ रन बनायो । दुई सय ५६ रनको लक्ष्य कुवेतले ४४ दशमलव दुई ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍याे । कुवेतका लागि यासिन पटेलले अविजित ६३, अदनान इद्रिसले ५६ तथा मित भावसरले ५४ रन बनाए । बलिङतर्फ बहराइनका लागि अब्दुल मजिदले तीन विकेट लिए ।

यसअघि ब्याटिङ गर्ने क्रममा बहराइनका लागि इमरान अनवरले ५३ तथा फैज अहमदले ४८ रन बनाए । बलिङतर्फ कुवेतका लागि सैयद मोनिवले चार विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर