कञ्चनपुरमा महिलालाई आक्रमण गर्ने पाटेबाघलाई नियन्त्रणमा लिइयो

कञ्चनपुरको बेलौरी नगरपालिकामा महिलालाई आक्रमण गरेको पाटेबाघलाई लामो प्रयासपछि नियन्त्रणमा लिइएको छ। बाघको आक्रमणमा परेकी महिला भने अझै बेपत्ता छिन्।

प्राविधिक टोलीले करिब २२ घण्टापछि बाघ नियन्त्रणमा लिन सफल भएको हो। टोली पुग्नुअघि बाघलाई घेरा हालेर निगरानी गरिएको थियो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले आक्रमण गर्ने बाघ नियन्त्रणमा लिइएको जानकारी दिँदै महिलाको अवस्था भने अझै अज्ञात रहेको बताए।।

उनले नियन्त्रणमा लिइएको बाघलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज लगिने बताए। बेपत्ता भएकी महिलाको खोजी भइरहेको पनि डिएसपी डाँगीले बताए।

शुक्रबार बाघको आक्रमणपछि बेलौरी-८ पचुँइका गङ्गादेवी चन्द बेपत्ता छिन्।

चन्दसहित स्थानीय महिला घाँस काट्न गएका बेला बाघले आक्रमण गरेको थियो। सो क्रममा अन्य महिला भागेर ज्यान जोगाउन सफल भएका थिए।

घटनाबारे लगत्तै स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरी र वनको टोली पचुँइ पुगेको थियो। बाघ नियन्त्रणका लागि बर्दिया र शुक्लाफाँटा निकुञ्जको टोली शुक्रबार बेलुकीदेखि नै खटिएको थियो।

सोही टोलीले चारवटा हात्तीको सहारामा पचुँइको खप्टी नाला छेउछाउबाट डार्ट गरेर नियन्त्रणमा लिएको हो।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत रोशनसिंह ठगुन्नाले बाघ नियन्त्रणमा लिएर बेल्डाँडी पोस्टमा पुर्‍याइएको जानकारी दिए।

कञ्चनपुरको दक्षिण क्षेत्रमा बाघ नियमित बस्ती वरपर देखिन थालेपछि वन कार्यालयले पनि यहाँ विभिन्न स्थानमा स्वभालित क्यामेरा जडान गरेर निगरानी गरिरहेकै बेला शुक्रबार उक्त घटना हुन पुगेको हो।

केही समयअघि पनि पुनर्वास नगरपालिकामा एक महिलाको बाघकै आक्रमणबाट ज्यान गएको थियो।

सो घटनापछि दक्षिण क्षेत्रमा निगरानी बढाइँदै आएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर