अस्पतालको शैय्याबाट बलजीत कौरले भनिन्- कठिन समयमा साथ दिने सबैलाई धन्यवाद

म्याग्दीस्थित विश्वको दशौं अग्लो हिमाल अन्नपूर्ण आरोहणका क्रममा फसेको दोस्रो दिन उद्धार गरिएकी भारतीय कीर्तिमानी आरोही बलजीत कौरले उक्त कठिन समयमा आफूलाई साथ दिने सबैलाई धन्यवाद दिएकी छन्। हाल काठमाडौंको सिभिल अस्पलातमा उपचाररत उनले सामाजिक सञ्जाल ट्विटरमार्फत धन्यवाद व्यक्त गरेकी हुन्।

उनले लेखेकी छन्, ‘जय हिन्द! मैले सामना गरेको त्यो कठिन समयमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा मेरो साथमा हुने सबैलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। तपाईंको प्रार्थना र आशीर्वादको लागि धेरै धेरै धन्यवाद!’

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४, नारच्याङस्थित अन्नपूर्ण हिमाल आरोहणका क्रममा सोमबारदेखि बेपत्ता रहेकी कौरको मंगलबार दिउँसो बेहोश अवस्थामा उद्धार गरिएको थियो।

पायनियर ट्रेकिङ कम्पनीबाट अन्नपूर्ण आरोहण गर्न गएकी कौर अक्सिजनको कमीका कारण बेहोश भएकी थिइन्।

 

स्कटल्याण्डका प्रख्यात आरोही नोएल हन्ना भने सात हजार पाँच सय मिटरको उचाइमा मृत भेटिएका थिए। सेभेन समिट ट्रेकमार्फत अन्नपूर्ण आरोहणका लागि आएका हान्ना सुतेकै ठाउँमा मृत भेटिएका थिए।

सेभेन समिटबाट आरोहणमा गएका भारतको राजस्थानको किशनगढका ३४ वर्षीय अनुराग मालुको तीन दिनपछि बुधबार जीवितै उद्धार गरिएको थियो।
आरोहण सफल नभएपछि मालु आधारशिविर फर्कने क्रममा सोमबार दिउँसोदेखि सात हजार पाँच सय मिटरको उचाइबाट समातेको डोरी फुत्किएपछि खसेर बेपत्ता भएका थिए।

आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालमा शनिबारदेखि चालु वर्षको वसन्त ऋतुको आरोहण सुरु भएको थियो।

यस वर्ष अन्नपूर्ण हिमाल आरोहणका लागि पर्यटन विभागबाट पाँच समूहका ४५ जनाले अनुमति लिएका छन्।

वि.सं. १९५० मा फ्रान्सका मौरिस हर्गोजले अन्नपूर्ण पहिलो पटक आरोहण गरेका थिए । मौरिसले अन्नपूर्ण चढेको तीन वर्षपछि १९५३ मा सर एडमण्ड हिलारी र तेन्जिन नोर्गे शेर्पाले सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *