अन्नपूर्ण आरोहणका क्रममा बेपत्ता भारतीय आरोही अनुराग मालु तीन दिनपछि जीवितै फेला

अन्नपूर्ण हिमालमा बेपत्ता भएका भारतीय आरोही अनुराग मालु तीन दिनपछि जीवितै फेला परेका छन्। उद्धारकर्ताहरूको टोलीले ३४ वर्षीय मालुलाई विश्वको दशौं अग्लो हिमाल अन्नपूर्णको तेस्रो शिविरमुनि गहिरो खाडलमा फेला पारेको सेभेन समिट ट्रेक्सका अभियान निर्देशक छाङदावा शेर्पाले बताए।

अनुरागका भाइ सुधीर मालुले अनुराग जिउँदै फेला परेको तर उनको अवस्था गम्भीर रहेको बताए। अन्नपूर्ण हिमालको दोस्रो शिविरबाट ओर्लने क्रममा ५ हजार ८ सय मिटरको गहिरो खाडलमा खसेपछि सोमबारदेखि अनुराग बेपत्ता भएका थिए। आज बिहान करिब ३०० मिटर गहिरो खाडलमा उनलाई फेला पारेको सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पाले बताए।

अनुरागलाई हेलिकोप्टरबाट पोखरा लगिएको र उनको अहिले मणिपाल अस्पतालमा उपचार भइरहेको शेर्पाले बताए।

पोल्याण्डका प्रसिद्ध आरोही एडम बिलेकी र उनका साथी पनि अनुरागको खोजी तथा उद्धारमा खटिएका थिए। उनको अवस्था निकै नाजुक रहेको अस्पताल स्रोतले पुष्टि गरेको छ।

सोही हिमाल आरोहणका क्रममा सोमबार नै आयरलण्डका प्रसिद्ध आरोही नोएल हन्नाको मृत्यु भएको थियो। भारतीय आरोही बलजीत कौर भने मंगलबार दिउँसो जीवितै फेला परेकी थिइन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *