अन्नपूर्ण आरोहणका क्रममा फसेकी भारतीय आरोही बलजीत कौरको ७ हजार ५०० मिटर उचाइबाट उद्धार
म्याग्दीस्थित विश्वको दशौं अग्लो हिमाल अन्नपूर्ण प्रथमको आरोहणका क्रममा फसेकी कीर्तिमानी भारतीय आरोही बलजीत कौरको जीवितै उद्धार गरिएको छ।
आरोहणका क्रममा सोमबारदेखि बेपत्ता रहेकी कौरको आज दिउँसो हिमालको ७ हजार ५०० मिटर उचाइबाट कैलाश एयरको हेलिकप्टरमार्फत उद्धार गरिएको उद्धारमा खटिएका म्याग्दी दानाका इन्द्रसिंह शेरचनले जानकारी दिएको राससले जनाएको छ।
उनले हिजो पूरक अक्सिजन प्रयोग नगरी अन्नपूर्णको आरोहण गरेकी थिइन्। ओर्लने क्रममा फसेकी हुन्।
शिखर बिन्दुभन्दा मुनि एक्लै बसेकी कौर आज बिहानसम्म रेडियो सम्पर्कबाट टाढा रहेकी थिइन्। उनले ‘तत्काल मद्दत’ माग गर्दै रेडियो सिग्नल पठाउन सफल भएपछि आज बिहान मात्रै हवाई खोज अभियान सुरु गरिएको थियो।
उनी काठमाडौंको पायोनिर ट्रेकिङ कम्पनीमार्फत अन्नपूर्ण आरोहणमा गएकी थिइन्।
यस्तै ‘सेभेन समिट ट्रेक्स’ बाट आरोहणमा गएका आयरलण्डका प्रसिद्ध आरोही नोएल हन्नाको मृत्यु भएको छ। उनको शव छ हजार मिटरको उचाइबाट आज दिउँसो आधार शिविरमा ल्याइएको छ।
सेभेन समिट ट्रेक्सबाट आरोहणमा गएका भारत राजस्थान किसनगढका ३४ वर्षीय अनुराग मालु भने अझै बेपत्ता छन्। सेभेन समिट ट्रेक्सका प्रबन्धक थानेश्वर गुरागाईंका अनुसार सफलतापूर्वक आरोहण गरी आधार शिविर फर्कने क्रममा सोमबार दिउँसोदेखि सात हजार पाँच सय मिटरको उचाइबाट उनी बेपत्ता भएका थिए।
उद्धार गरिएकी कौर र मृत्यु भएका हन्नाको शवलाई आधारशिविरबाट काठमाडौं ल्याउने तयारी गरिएको छ।
बेपत्ता मालुको खोजीमा निजी कम्पनीका चारवटा हेलिकोप्टर परिचालन गरिएको छ। आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ मा पर्छ।
प्रतिक्रिया