भारतीय आरोही बलजीत कौर अन्नपूर्णको ७ हजार ३ सय मिटरमाथि जीवितै फेला
आरोहणका क्रममा सोमबारदेखि बेपत्ता रहेकी भारतीय कीर्तिमानी महिला आरोही बलजीत कौर विश्वको दशौं अग्लो शिखर अन्नपूर्ण प्रथमको ७ हजार ३ सय मिटरभन्दा माथि जीवितै भेटिएकी छन्।
आरोहण आयोजकले उनी चौथो शिविरमाथि जीवितै फेला परेको र हवाई खोज टोलीले उनको उद्धारको प्रयास गरिरहेको जनाएको छ।
उनले हिजो पूरक अक्सिजन प्रयोग नगरी अन्नपूर्णको आरोहण गरेकी थिइन्। ओर्लने क्रममा उनी हराएकी हुन्।
शिखर बिन्दुभन्दा मुनि एक्लै बसेकी कौर आज बिहानसम्म रेडियो सम्पर्कबाट टाढा रहेकी थिइन्। उनले ‘तत्काल मद्दत’ माग गर्दै रेडियो सिग्नल पठाउन सफल भएपछि आज बिहान मात्रै हवाई खोज अभियान सुरु गरिएको थियो।
आरोहण आयोजकका अनुसार। उनको जीपीएस लोकेशनले ७,३७५ मिटर (२४,१९३ फिट) को उचाइलाई संकेत गरेको छ। उनले हिजो साँझ ५ः१५ बजे दुई शेर्पा गाइडसँगै अन्नपूर्ण हिमालको आरोहण गरेकी हुन् । उनको खोजीमा तीनवटा हेलिकप्टर परिचालन गरिएको थियो।
यसैबीच उत्तरी आयरल्याण्डका १० पटक सगरमाथा आरोहण गरेका प्रसिद्ध आरोही नोएल हन्नाको शव निकाल्ने प्रयास जारी छ। उनको हिजो सोही हिमाल आरोहणका क्रममा चौथो शिविरमा मृत्यु भएको थियो।
यस्तै हिजो चौथो शिविरबाट ओर्लने क्रममा ६,००० मिटरबाट गहिरो खाडलमा खसेर बेपत्ता भएका भारतीय पर्वतारोही अनुराग मालुको पनि खोजी भइरहेको छ।
प्रतिक्रिया