अन्नपूर्ण हिमालमा आयरल्याण्डका प्रसिद्ध आरोहीको मृत्यु, दुई भारतीय आरोही बेपत्ता

म्याग्दीस्थित विश्वको दशौं अग्लो हिमाल अन्नपूर्ण आरोहणका क्रममा आयरल्याण्डका एक प्रख्यात आरोहीको मृत्यु भएको छ।

१० पटक सगरमाथा आरोहण गरेका उत्तरी आयरल्याण्डका नोएल हन्नाको मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै कीर्तिमानी भारतीय महिला आरोही बलजीत कौर र अर्का भारतीय आरोही अनुराग मालु बेपत्ता भएका छन्। साेमबार दिउँसो आरोहण सफल नभएपछि शिविरबाट ओर्लने क्रममा यो घटना भएको जनाइएको छ।

बलजीत कौर एक महिनाभन्दा कम समयमै आठ हजार मिटर अग्ला चार हिमालको आरोहण गर्ने पहिलो भारतीय पर्वतारोही हुन्।

यस्तै अनुराग मालु आठ हजार मिटरभन्दा अग्ला विश्वका १४ वटै हिमालको आरोहण लक्ष्यका साथ अन्नपूर्णको आरोहणका लागि आएका थिए।

जिल्ला प्रहरी कार्यालय, म्याग्दीका प्रहरी निरीक्षक किरण लामाले आफूलाई एक जना आरोहीको मृत्यु भएको र दुई जना हराइरहेको जानकारी प्राप्त भएको पर्दाफासलाई बताए। बेपत्ताहरूको खोजीका लागि पोखराबाट हेलिकोप्टर उडिसकेको उनले जानकारी दिए।

‘हिजोसम्म एक जनामात्रै बेपत्ता भएको भन्ने जानकारी आएको थियो। थप बुझ्दै जाँदा तीन जना रहेको खुल्यो,’ उनले भने, ‘एक जनाको मृत्यु भएको जानकारी आएको छ। बेपत्ताहरूको खोजीका लागि पोखराबाट हेलिकोप्टर उडिसकेको छ।’

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ मा पर्ने अन्नपूर्ण हिमालमा शनिबारदेखि चालु वसन्त ऋतुको आरोहण सुरु भएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *