सातौं चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी वैशाख २२ बाट

सातौं चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी वैशाख २२, २३ र २४ गते हुने भएको छ। सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो।

प्रदर्शनी चितवन उद्योग संघको आयोजनामा, संघको केन्द्रीय छाता संस्था नेपाल उद्योग परिसंघको प्रवर्द्धन सहयोगमा हुन लागेको हो। प्रदर्शनी चितवन प्रदर्शनी केन्द्र, भरतपुरमा हुनेछ।

निर्माण, कृषि, अटोमोबाइल, फर्निचर, इन्जिनियरिङ, मेटल, फर्मास्युटिकल्स, टेक्सटाइल, प्रिन्ट्रिङ, प्याकेजिङ, प्लाष्टिक, पर्यटन, फुड एण्ड वेभरेजेज तथा अन्य सेवामूलक उद्योगहरूको उत्पादन र सेवाका प्रदर्शनी हुनेछ। यी उद्योगहरूलाई उपयोगी हुने आधुनिक मेसिन, यन्त्र, उपकरण र प्रविधिको प्रदर्शनसहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी २ सयभन्दा बढी स्टलहरू रहने आयोजकले जनाएको छ।

प्रदर्शनीले नेपाली उद्यमीहरूलाई नयाँ प्रविधिबारे जानकारी गराउँदै युवाहरूलाई उद्यमशीलतामा प्रोत्साहन गर्ने, नयाँ उद्यमी जन्माउन सहयोग गर्ने उपयुक्त माध्यम बन्ने चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले बताए।

उनले प्रदर्शनीले उद्यमीहरूलाई आधुनिक प्रविधि अनुसरण गरी औद्योगिक उत्पादकत्व वृद्धिका लागि प्रोत्साहन गर्न सहयोग पुग्ने बताए। उनले प्रदर्शनीका क्रममा मेक इन नेपाललगायतका स्वदेशी उत्पादकत्वको वृद्धि र पहुँच विस्तारको गोष्ठी आयोजना गर्ने पनि बताए।

अध्यक्ष कँडेलले प्रदर्शनीले लघु, घरेलु तथा साना उद्योगहरूलाई सहज र किफायती बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे। उनले यस प्रदर्शनी नेपालको औद्योगिक विकासमा सहयोग पुर्‍याउन कोसेढुंगा साबित हुने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *