नेपालमा जात र धर्मसँगै प्रकृति र संस्कृतिमा पनि विविधता छ : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई विश्वसामु नेपाली संस्कृति र नेपालीपनले चिनाएको बताएका छन् । इन्ट्रा-नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अमेरिकाको आयोजनामा हाल काठमाडौंमा जारी ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ प्रतियोगिताका सहभागी कलाकारलाई सम्बोधन गर्दै उनले सो धारणा राखेका हुन् ।
नेपाल बहुजातीय तथा बहुसांस्कृतिक मुलुक भएको बताउँदै राष्ट्रपति पौडेलले नेपालमा जात र धर्ममा मात्र नभई प्रकृति र संस्कृतिमा पनि विविधता भएको विचार व्यक्त गरे ।
उनले नेपालमा विभिन्न परिवारका समुदायको सम्मिश्रित संस्कृति रहेको बताउँंदै यी सबैको मिलनबाट नै नेपालीबीचको एकता बलियो भएको बताए । उनले संस्कृतिले नै हामी सबै नेपालीलाई जोड्छ र एकाकार बनाउँछ भन्ने भावका साथ लाग्न संसारका सबै नेपालीलाई आह्वान पनि गरे ।
राष्ट्रपति पौडेलले नेपालीहरु विश्वका कुना-कुनामा पुगेको बताउँंदै विदेशमा रहेर पनि नेपालीहरु आफ्नो पहिचान र संस्कृति जोगाउने अभियानमा लागेकामा उक्त फाउण्डेसनको प्रशंसा गरे । नेपालको भाषा, संस्कृति र साहित्यलाई विश्वसामू चिनाउनका लागि आगामी दिनमा पनि यस कार्यलाई निरन्तरता दिन फाउण्डेशनलाई राष्ट्रपति पौडेलको सुझाव थियो ।
नेपाली नपुगेको दुनियाँमा ठाउँ नरहेको र नेपालीहरु जहाँ रहेका भए पनि नेपाली पहिचान र नेपालीपन जोगाएरै बसेका उल्लेख गर्दै राष्ट्रपति पौडेलले भने, ‘विश्वका नेपालीलाई भाषा र संस्कृतिका माध्यमबाट एकाकार बनाउन इन्ट्रा फाउन्डेसनले सञ्चालन गरेको विश्वव्यापी अभियानप्रति आभार व्यक्त गर्दछु । यस अभियानले संसारमा नेपाल चिनाउन ठूलो योगदान पुर्याउने विश्वास पनि लिएको छु ।’
फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले संसारमा छरिएर रहेका नेपाली जातिलाई आफ्नो पुर्खाको देशसँग नेपाली भाषा र कलाका माध्यमबाट जोड्नका लागि संसारबाट प्रतिभाहरु छानेर नेपालमै ल्याइ यस प्रतियोगिताको आयोजना गरिएको जानकारी दिए ।
फाउन्डेसनमार्फत् आफूहरुले संसारभरिका नेपाली जातिबीच सांस्कृतिक एकताको महाभियान सुरु गरेको र सो अभियानलाई राष्ट्रपतिबाट प्राप्त भएको हौसलाले अझ गम्भीर भएर लाग्न मद्दत पुगेको विश्वास लिएको भन्दै अध्यक्ष अधिकारीले संसारभरका नेपालीबीच विभेद नगरी राज्यले सबैलाई समान व्यवहार गर्नुपर्ने बताए ।
फाउण्डेसनले आफ्रिकाबाहेकका विश्वका छ महादेशका ५२ भन्दा बढी देशबाट मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स कार्यक्रममार्फत नेपाली प्रतिभाहरु प्रारम्भिक छनोट गरी काठमाडौँ ल्याएको छ । ती प्रतिभाबीच हाल यहाँ गायन र नृत्यका साइटलेस अडिसन जारी छ ।
गायन र नृत्य प्रतियोगितामा छानिएकामध्ये प्रथम हुनेले जनही एक करोड, दोस्रो हुनेले ३० लाख र तृतीय हुनेले २० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै समूह नृत्य प्रतियोगिता पनि रहेको छ । नेपालमा आयोजना गरिएको यस्तो शो अहिलेसम्मकै सबैभन्दा धेरै पुरस्कार राशिको हो ।
प्रतिक्रिया