इण्डियन वुमन्स लिग खेल्न चार नेपाली खेलाडी भारत प्रस्थान
नेपाली राष्ट्रिय टिमका चार जना खेलाडी इण्डियन वुमन्स लिग (आईडब्लूएल) मा व्यावसायिक फुटबल खेल्न बिहीबार भारत प्रस्थान गरेका छन् ।
साविक विजेता गोकुलम केरलाबाट खेल्ने स्ट्राइकर सावित्रा भण्डारी, सेथु एफसीबाट खेल्ने गोलरक्षक एञ्जिला तुम्बापो सुब्बा र किक स्टार्टबाट खेल्ने सरु लिम्बू र रेनुका नगरकोटी भारत गएका हुन् ।
सावित्राले सन् २०१८-०१९ को सिजनदेखि नै भारतमा व्यावसायिक लिग खेलिरहेकी छन् ।
सरु र रेनुकाले यसअघि २०२० को सिजनमा अनुबन्ध भए पनि कोरोना महामारीका कारण प्रतियोगिता स्थगित भएपछि खेल्न पाएका थिएनन् ।
नेपाली टिमकी उदीयमान खेलाडी दीपा शाही पनि लर्ड्स एफसीका लागि अनुबन्धित भइसकेकी छन् ।
सन् २०१६ देखि सुरु भएको भारतीय महिला फुटबल लिगमा १६ टिम छन् ।
नयाँ संस्करणको प्रतियोगिता २५ अप्रिलदेखि सुरु हुनेछ । सहभागी १६ टिमलाई दुई समूहमा बाँडेर प्रतिस्पर्धा गराइनेछ । हरेक समूहको शीर्ष चार टिम क्वाटरफाइनलमा प्रवेश गर्नेछन् ।
प्रतिक्रिया