महासंघको वरिष्ठ उपाध्यक्षका लागि २ बजेदेखि पुनः मतदान
नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि पुनः निर्वाचन हुने भएको छ । बुधबार भएको निर्वाचनमा वरिष्ठ उपाध्यक्षका कुनै पनि उम्मेदवारहरूले ५० प्रतिशत मत ल्याउन नसकेकाले पुनः निर्वाचन हुन लागेको हो ।
वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठबीच पुनः प्रतिस्पर्धा हुने भएको छ । रामचन्द्र संघई भने चुनावी प्रतिस्पर्धाबाट बाहिरिएका छन् ।
पहिलो चरणको मतदानमा अञ्जनले ३७.९९, उमेशले ३१.९९ र रामचन्द्रले ३०.४६ मत ल्याएको मुख्य निर्वाचन अधिकृत लिलामणि पौडेलले बताए । उनले महासंघमा वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने भए पनि चुनावी प्रतिस्पर्धामा रहेका वरिष्ठ उपाध्यक्षका उम्मेदवारहरूमध्ये कसैले पनि ५० प्रतिशत मत नल्याएकाले पुनः दुई जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने बताए ।
उनले महासंघको विधानअनुसार कुनै एक उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएकाले पहिलो र दोस्रो हुनेबीच पुनः प्रतिस्पर्धा हुने व्यवस्था रहेको बताए । उनले वरिष्ठ उपाध्यक्षका लागि दोस्रो चरणको मतदान दिउँसो २ बजेदेखि अपराह्न ५ बजेसम्मका लागि तोकिएको बताए।
निर्वाचनले आगामी ३ वर्षका लागि वरिष्ठ उपाध्यक्षसहितका केन्द्रीय सदस्यको नयाँ नेतृत्व चयन गर्नेछ । महासंघको उपाध्यक्षमा रामचन्द्र संघाई प्यानलबाट दुई र उमेशलाल श्रेष्ठ प्यानलबाट एक जना निर्वाचित भएका छन् । जिल्ला नगर र एशोसिएटमा संघाई समूहबाट उपाध्यक्ष निर्वाचित भएका छन् । जिल्ला नगरमा सुरकृष्ण वैद्य र एशोसिएट उपाध्यक्षमा ज्योत्स्ना सुब्बा श्रेष्ठ निर्वाचित भएका छन् ।
प्रतिक्रिया