महासंघको चुनाव दोस्रो चरणमा, रामचन्द्र बाहिरिए, अञ्जन र उमेशलालबीच प्रतिस्पर्धा
नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका लागि पुनः मतदान हुने भएको छ। बुधबार भएको मतदानको बिहीबार बिहान सार्वजनिक परिणामअनुसार तीन प्रतिस्पर्धीमध्ये कसैले पनि आवश्यक मत नपाएपछि चुनाव दोस्रो चरणमा प्रवेश गरेको हो।
दोस्रो चरणमा वरिष्ठ उपाध्यक्षका लागि अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ। रामचन्द्र संघाई भने पहिलो चरणबाटै बाहिरिएका छन्।
पहिलो चरणमा अञ्जनले ३८ प्रतिशत, उमेशलालले ३१.५१ रामचन्द्रले ३०.४६ प्रतिशत मत लिएका छन्।
वरिष्ठ उपाध्यक्षका लागि भोटिङ हुँदा विभिन्न समूहका लागि फरकफरक मतभार निर्धारण गरिएको हुन्छ। सबै मतभारलाई १०० प्रतिशत मानेर ५० प्रतिशत बढी मत प्राप्त गर्ने वरिष्ठ उपाध्यक्षमा विजयी हुन्छन्।
यदी पहिलो चरणमा ५१ प्रतिशत मत नआएमा बढी मत प्राप्त गर्नेबीच प्रतिस्पर्धा हुन्छ र त्यसमा जसले बढी भोट ल्याउँछ उही विजयी हुन्छ।
विधानअनुसार जिल्ला नगर वाणिज्य संघको ५० प्रतिशत मतभार हुन्छ। वस्तुगतको २० प्रतिशत हुन्छ भने एशोसिएटको ३० प्रतिशत भार हुन्छ।
अन्तिम परिणाम आएकोमा जिल्लानगरतर्फ रामचन्द्र संघई प्यानलका सुरकृष्ण वैद्य विजयी भएका छन्।
उनले ४३ मत प्राप्त गरेर विजयी हुँदा निकटतम प्रतिस्पर्धी अञ्जन श्रेष्ठ प्यानलका अरुणराज सुमार्गीले ३७ मत प्राप्त गरे।
वस्तुगतर्फ उमेशलाल श्रेष्ठ प्यानलका हेमराज ढकाल विजयी भएका छन्। उनी ६१ मत लिएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी मनिषलाल प्रधानले ५८ मत ल्याए। उनी अञ्जन प्यानलका हुन्।
एशोसिएट उपाध्यक्षमा रामचन्द्र संघाई प्यानलकी ज्योत्सना श्रेष्ठ विजयी भएकी छन्। उनले ८४६ मत प्राप्त गर्दा उनकी प्रतिस्पर्धी भरतराज आचार्यले ७८१ मत ल्याएका छन्।
प्रतिक्रिया