उद्योग वाणिज्य महासंघको मतदान पुनः सुरु
नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयनका लागि आज मतदान भइरहेको छ । केहीबेर रोकिएको मतदान पुनः सुरु भएको छ ।
बुधबार तोकिएको समयभन्दा केही ढिला गरी सुरु भएको मतदान जिल्ला नगरका मतदाता तथा समर्थकहरूले एशोसिएटको मतदानस्थलमा होहल्ला गरेपछि केहीबेर राेकिएकाे थियाे।
समर्थकले वरिष्ठ उम्मेदवारको पक्षमा भोट माग्दै हुटिङ गरेका थिए । भोट फर अञ्जन, भोट फर संघाई, भोट फर उमेशलाल भन्दै समर्थकले होहल्ला गरेसँगै मतदान केहीबेर स्थगित भएको थियो ।
महासंघको नयाँ कार्यसमिति चयनका लागि बुधबार बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान प्राविधिक तयारी नपुगेको भन्दै दुई घण्टा ढिला सुरु भएको थियो । जिल्ला नगर र वस्तुगततर्फ एक र एशोसिएटतर्फ ३ वटा बुथ कायम गरिएको छ । निर्वाचनमा मोबाइल, प्रज्वलनशील पदार्थ निषेध गरिएको छ ।
महासंघको आगामी नेतृत्वको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ, रामचन्द्र संघाई र उमेशलाल श्रेष्ठबीच प्रतिस्पर्धा भइरहेको छ । महासंघको कार्यसमिति सदस्यमा चार जना सर्वसम्मत निर्वाचित भइसकेकाले निर्वाचनबाट एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ५९ जना कार्यसमिति सदस्य चुनिने छन् । महासंघको विधान अनुसार हाल वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल ३० चैतदेखि स्वतः महासंघको अध्यक्ष बन्नेछन् । नयाँ नेतृत्व चयन गर्नका लागि उद्योगी व्यवसायीहरूको बिहानदेखि प्रज्ञा भवनमा बाक्लो उपस्थिति रहेको छ ।
प्रतिक्रिया