११८ केजी चरेससहित पर्साबाट ३ जना पक्राउ
२७ चैत २०७९ १२:०४
पर्साको पटेर्वासुगौली गाउँपालिका-५, देउरियाबाट अवैध लागुऔषध चरेस ११८ केजी र अवैध लागुऔषध गाँजा ४ केजीसहित ३ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेहरूमा पटेर्वासुगौली गाउँपालिका-५ बस्ने ६० वर्षीय प्रदेशी राउत (थारु), मकवानपुर रक्सीराङ गाउँपालिका-८ बस्ने ३८ वर्षीय रमेश मोक्तान र मकवानपुर मनहरी गाउँपालिका-६ बस्ने २५ वर्षीय रेशन मोक्तान रहेका छन्। उनीहरूलाई प्रहरीले आइतबार दिउँसो पक्राउ गरेको हो।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय, पर्सा र वडा प्रहरी कार्यालय, श्रीपुरबाट खटिएको संयुक्त टोलीले प्रदेशी राउतको घर तथा टहरा तलासी गर्दा उक्त परिमाणको लागुऔषध फेला पारेको हो।
उनीहरूमाथि लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया