रोकिएन रोहिंग्या तस्करी, नेपालमा संख्या ४३३ पुग्यो

नेपालमा शरणार्थीका लागि मानविय सहायताबाहेक कानून नभए पनि विभिन्न देशबाट आप्रवासी आउने क्रम रोकिन सकेको छैन। पछिल्लो समय म्यानमारबाट भागेर बंगलादेश आएका रोहिंग्याहरूको तस्करी हुन थालेको छ।

यसैबीच प्रहरीले रोहिंग्या शरणार्थीको तस्करीमा संलग्न एक जनाविरुद्ध ‘अलर्ट’ जारी गरेको छ। म्यान्मारको रोहिंग्या शरणार्थी रही काठमाडौंको बूढानीलकण्ठ नगरपालिका वडा नं. ११ को लसुनटार शिविरमा बस्ने अबुल सोमनविरुद्ध अलर्ट जारी गरेको हो।

उनी हालै बंगलादेशको कुक्स बजारको शरणार्थी शिविरमा आगलागीमा घरबारविहीन भएकाहरूलाई नेपाल भित्र्याउन रक्सौल नाकाबाट भारत हुँदै बंगलादेशको नाकातिर गएको सूचना पाएपछि प्रहरीले अलर्ट जारी गरेको हो।

सो आगलागीमा परी दुई हजार घर टहरा जलेका थिए र १२ हजार शरणार्थी घरबारविहीन भएका थिए। बंगलादेशमा रहेका घरबारविहीन यस्ता म्यानमारका शरणार्थीहरूलाई रकम असुलेर नेपाल भित्र्याउन उनी त्यसतर्फ गएको सूचना प्राप्त भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनको विगत तीन दिनदेखि मोबाइल स्विच अफ छ।

प्रहरीले उनलाई पक्राउ गरेर सोधपुछ गर्नुपर्ने भन्दै काँकडभिट्टा, जोगवनी, रक्सौल, सुनौली र जमुनाह नाकामा विशेष निगरानी गर्न सर्कुलर गरेको छ।

यसैबीच नेपालमा एक जना राेहिंग्या शरणार्थी थपिएका छन्। काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-११ को लसुनटारमा भारतबाट ल्याइएका सयादुल अमिन मे १८, २०२३ मा यूएनएचसीआरमा शरणार्थी दर्ताका लागि अन्तर्वार्ता दिने गरी निवेदन पेस गरी चैत २१ गतेदेखि लसुनटार शिविरमा बसोवास गर्न थालेका छन्। योसँगै नेपालमा म्यानमारका रोहिंग्या शरणार्थीको संख्या ४३३ जना पुगेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर