किन लिँदैछन् तिब्बतीले नेपाली नागरिकता? करिब ५०० जनाले लिएकाे दाबी

नेपालमा तिब्बती शरणार्थीहरूले ठूलाे संख्यामा नेपाली नागरिकता लिएकाे खुलेकाे छ। करिब ५०० जना तिब्बती शरणार्थीले नेपाली नागरिकता लिएकाे प्रहरी अनुसन्धानबाट खुलेकाे छ।

नागरिकता बनाइदिने गिरोहका ५ जनालाई यसअघि प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। यसमा काठमाडाैं जिल्ला प्रशासनका कर्मचारीकै संलग्नता पुष्टि भइसकेकाे छ। नागरिकता लिनका लागि तिब्बती शरणार्थीहरूले ठूलो रकम सो गिरोहलाई बुझाउने गरेको पाइएको छ।

तर, यति जटिल प्रक्रिया अपनाएर र महँगो रकम तिरेर तिब्बती शरणार्थीहरूले किन नेपाली नागरिकता लिइरहेका छन् भन्ने विषयमा भने अहिलेसम्म केही खुलेको छैन।

यसैबीच नेपाली नागरिकता लिएको आरोपमा प्रहरीले थप एक जना तिब्बती शरणार्थीलाई पक्राउ गरेको छ।

२७ वर्षकी निमा ल्हामो गुरुङ पक्राउ परेकी हुन्। उनले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकता लिएकाे पाइएकाे काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले जानकारी दिए।

उनले निमा ल्हामो गुरुङ नाममै नेपाली नागरिकता बनाएको पाइएको प्रहरीको भनाइ छ। उनलाई प्रहरीले बिहीबार बौद्धबाट पक्राउ गरेको हो।

२ वर्षअघि तिब्बतबाट भारतको बाटो हुँदै नेपाल प्रवेश गरेकी उनले बौद्ध टुसालमा रहेको शरणार्थी क्याम्पमा बसोबास गर्ने व्यक्तिमार्फत नागरिकता बनाउने गिरोहका कृष्णबहादुर कटुवालसँग सम्पर्क गरेकी थिइन्।

कटुवालले नागरिकता बनाइदिएबापत उनीसँग ५ लाख रुपैयाँ लिएको खुलेको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले तिब्बती शरणार्थीको शुक्रबार स्वयम्भूको मनाङ गुम्बामा परिचयपत्र नवीकरण गरेको र शनिबार बौद्व क्याम्पमा नवीकरण गर्ने तयारी रहेकोसमेत पाइएको प्रहरीले जनाएको छ।

यसअघि प्रहरीले तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाउन संलग्न कृष्णबहादुर कटुवालसहित ५ जनालाई पक्राउ गरेको थियो।

यसमा काठमाडौं जिल्ला प्रशासनका नासु देवराज, क्यान्टिन चलाउने विजय लामालगायत छन्। उनीहरूमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

यो गिरोहले करिब ५०० जनालाई नेपाली नागरिकता बनााइदिएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *