नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) बीच एकता

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का बीचमा पार्टी एकता गर्ने निर्णय भएको छ। शुक्रबार नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) ले संयुक्त रूपमा पत्रकार सम्मेलन गर्दै दुई पार्टीका बीचमा एकता गर्ने निर्णय भएको जानकारी दिइएको हो।

पत्रकार सम्मेलनमा नेकपा (मसाल) सँग पनि एकताका लागि वार्ता जारी रहेकाले निकट भविष्यमा मसालसँग पनि एकता हुने बताइयो। पार्टी एकताका आधारहरू माक्र्सवाद-लेनिनवाद-माओवादको मार्गनिर्देशक सिद्धान्त, नयाँ जनवादी क्रान्तिको आम कार्यक्रम, वैज्ञानिक समाजवादको आधारभूत कार्यक्रम रहेको जनाइएको छ।

त्यस्तै क्रान्तिमा बल प्रयोगको अनिवार्य भूमिका, जनवादी केन्द्रीयताको संगठन सञ्चालन पद्धति, वर्तमान राज्यसत्ता तथा संसदीय व्यवस्थाको अन्त्यलगायत पार्टी एकताका आधारहरू रहेको नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले जानकारी दिए। उनले पार्टी एकतासँगै नयाँ क्रान्तिको सुरुवात गर्ने बताए।

पत्रकार सम्मेलनमा बोल्दै नेकपा (क्रान्तिकारी माओवादी) का नेता सीपी गजुरेलले सबै क्रान्तिकारी कम्युनिष्ट र वामपन्थीहरू संगठित भएर तेस्रो जनआन्दोलनको घोषणा गर्नुपर्ने बताए। उनले सबै कम्युनिष्टहरूलाई एकता प्रक्रियाभन्दा बाहिर नबस्न आग्रह गरे। उनले अब क्रान्तिकारी कम्युनिष्टहरू देशको मूल प्रवाह बन्ने बताए।

त्यसैगरी कार्यक्रममा बोल्दै नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोलाले नेपालमा संसदीय व्यवस्था अन्त्य गरी वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाका लागि आफूहरू एकताबद्ध हन लागेको बताए।

पार्टी एकताको घोषणा भने आगामी अन्तर्राष्ट्रिय मजदुर दिवसको दिन गरिने जानकारी गराइएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर