धितोपत्र बोर्डका अध्यक्ष हमालको के हो विवाद ? के हो सत्यता ?
धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डका पदाधिकारी तथा कर्मचारीलाई सेयर कारोबारमा अनावश्यक चलखेल गर्न नदिन आचारसंहिता र नियमावलीको व्यवस्था गरिएको छ । तर अहिले यिनै आचारसंहिता र नियमावलीको व्यवस्था देखाएर पदाधिकारी हुनुअघिको कारोबारमा पनि विवाद निकाल्न थालिएको छ ।
यसैको ताजा उदाहरण हो, तीन वर्षअघिको कम्पनी रेटिङ र ऋण सम्झौतालाई देखाएर बोर्ड अध्यक्ष रमेशकुमार हमाललाई विवादमा तान्नु । बोर्डका अध्यक्ष हमाललाई अहिले उनी पनि साझेदार रहेको ओमस्टोन एसिया क्यापिटल (नेपाल) प्रालिको रेटिङ गराएको र त्यसैको आधारमा ऋण लिएको आरोप लागेको हो ।
तर, यथार्थमा भने हमाल बोर्ड अध्यक्ष हुनुअघि नै यो ऋण सम्झौता भएको र रेटिङ भएको खुलेको छ ।
विवाद के हो ?
नेपाल धितोपत्र कर्मचारी सेवा शर्त नियमावली र नेपाल धितोपत्र बोर्डका कर्मचारीको आचारसंहिता २०७३ अनुसार बोर्डका पदाधिकारी तथा कर्मचारीले कम्पनीको स्थापना र सञ्चालन तथा व्यापार व्यवसाय गर्न नपाउने जनाइएको छ । बोर्डका कर्मचारीको आचारसंहिता २०७३ को दफा २ को खण्ड (क) बमोजिम कर्मचारीभित्र बोेर्डको कार्यकारी प्रमुख भई काम गर्ने अध्यक्ष समेत पर्ने उल्लेख छ ।
यही व्यवस्थाविपरीत अध्यक्ष हमालले बोर्डबाट लाइसेन्स प्राप्त संस्थाबाट आफ्नै कम्पनीको मूल्यांकन गराई ऋण लिएको आरोप लागेको हो । उनको कम्पनी ओमस्टोनले इक्रा नेपालबाट रेटिङ गराएको छ । इक्रा बोर्डबाट लाइसेन्स प्राप्त कम्पनी हो । ओमस्टोनले पछिल्लो पटक गत असोज ३१ मा रेटिङ गराएको छ । ओमस्टोनले सानिमा बैंक र राष्ट्रिय वाणिज्य बैंकबाट करिब १ अर्ब रुपैयाँ ऋण सम्झौता पनि गरेको छ ।
सत्यता के हो ?
हमालको साझेदारी रहेको कम्पनी ओमस्टोनले इक्राबाट रेटिङ गराएको सत्य हो । तर, ऋण सम्झौताका लागि आवश्यक रेटिङ र कर्जा सम्झौता भने उनी बोर्डको अध्यक्ष बन्नुअघि नै भएको थियो । ओमस्टोनले काभ्रेको धुलिखेलमा सञ्चालन गने पाँचतारे सुविधासम्पन्न रिसोर्टका लागि फागुन २०७६ मा सानिमा बैंकको अगुवाइमा दुई बैंकले लगानी गर्ने सम्झौता भएको थियो ।
रिसोर्ट सञ्चालनका लागि सानिमा बैंकको अगुवाइमा राष्ट्रिय वाणिज्य बैंकलगायतबाट वित्तीय व्यवस्थापनसमेत भएको थियो । दुसितथानी हिमालयन रिसोर्ट एन्ड स्पा सञ्चालनका लागि अनुमानित लागत एक अर्ब २७ करोड रुपैयाँ रहेको थियो । कम्पनीले रिसोर्ट सञ्चालन तथा व्यवस्थापनका लागि थाइल्यान्डको दुसितथानीसँग सहकार्य गर्ने भएपछि बैंकहरुले ऋण लगानी गरेका थिए ।
हमाल भने फागुन २०७८ मा बोर्डको अध्यक्ष बनेका थिए । सरकारले बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज ढुंगानालाई बर्खास्त गरे लगत्तै हमाललाई नियुक्त गरेको थियो । तर, उनी अध्यक्ष हुनुअघि नै कम्पनीको रेटिङ र ऋण सम्झौता भइसकेको थियो । उनी अध्यक्ष भइसकेपछि गरिएको रेटिङमा भने कम्पनीले ‘ए फोर’ रेटिङ ग्रेड पाएको छ । ओमस्टोनमा दुबईमा व्यवसाय गर्दै आएका भारतीय मूलका व्यवसायी विष्णु मोरको पनि लगानी छ ।
थाइल्यान्डको हस्पिटालिटी कम्पनीसँगको सहकार्य
ओमस्टोनले विश्वप्रख्यात थाइल्यान्डको हस्पिटालिटी कम्पनी दुसित इन्टरनेसनलसँगको सहकार्यमा होटल सञ्चालन गर्न लागेको हो । दुसित थाइल्यान्डको प्रख्यात हस्पिटालिटी तथा शैक्षिक क्षेत्रसँग सम्बन्धित कम्पनी हो । यसले विश्वव्यापी रूपमा आफ्नो सेवा क्षेत्र विस्तार गर्दै लगेको छ ।
धुलिखेलमा बनाउन लागिएको रिसोर्टको व्यवस्थापन बहुराष्ट्रिय होटेल ब्रान्ड दुसित थानीले गर्नेछ । विगत ६५ वर्षदेखि हस्पिटालिटी क्षेत्रमा विश्वस्तरीय एवं गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको दुसित इन्टरनेसनलको हाल १८ देशहरूमा २९ वटा होटेल तथा रिसोर्ट सञ्चालनमा छन् । त्यस्तै, दुसित इन्टरनेसनलले अस्ट्रेलिया, नेपाल, भुटान, चीन, इन्डोनेसिया, केन्या, म्यानमार, ओमन, फिलिपिन्स, कतार, साउदी अरब, सिंगापुर, टर्की र युएईजस्ता देशमा ५२ वटा प्रोजेक्ट निर्माण गर्ने योजनासमेत अघि सारेको छ ।
तत्कालीन सम्झौताअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लगभग १ घण्टाको दूरीमा बन्ने यो रिसोर्टमा ४४ वटा गेष्ट रुम हुने र २० वटा उच्चस्तरका भिल्लाहरु रहने जनाइएको थियो । यी हरेक २० भिलाबाट हिमालयको दृश्यावलोकन गर्न सकिनेछ ।
प्राकृतिक सुन्दरताले भरिपूर्ण यस क्षेत्रमा बन्ने रिसोर्टमा दुसितको ब्राण्डबाट परिचित देर्भना स्पाकै अवधारणबाट स्पान बनाइने र रिसोर्टमा स्विमिङ पुल, अत्याधुनिक बार लबि लञ्ज जस्ता विशेषता रहने जनाइएको थियो ।
प्रतिक्रिया