पुप्से च्याम्पियनसिप चैत अन्तिम साता

नेपाल तेक्वान्दो संघको आयोजनामा चैत अन्तिम साता पहिलो संस्करणको एनटीए खुला पुप्से तेक्वान्दो च्याम्पियनसिप हुने भएको छ।

नेपाल तेक्वान्दो संघले आइतबार पत्रकार सम्मेलन गरेर च्याम्पियनसिप २९ गते प्रथम एनटीए खुला पुप्से तेक्वान्दो प्रतियोगिता हुने जनाएको हो। खेलकुद विकास ऐन, २०७७ मा संघहरूले प्रत्येक वर्ष प्रतियोगिता गर्ने प्रावधानअनुसार च्याम्पियनसिप हुन लागेको हो।

प्रतियोगिताका लागि संघका उपाध्यक्ष भक्तबहादुुर चन्दको अध्यक्षतामा सात सदस्यीय प्रतियोगिता आयोजना समिति गठन गरिएको छ। समितिको संयोजकमा संघका केन्द्रीय सदस्य बब्लु शिवाकोटी छन्।

च्याम्पियनसिपमा देशभरबाट डोजाङको सिफारिसमा आएका कुनै पनि खेलाडीले सहभागिता जनाउने आयोजकले जानकारी दियो। विभिन्न कुनामा रहेका खेलाडीको प्रतिभा उजागर गर्ने लक्ष्यका साथ आयोजना गर्न लागिएको च्याम्पियनसिपमा सिनियर, जुनियर, क्याडेट र सुपर क्याडेट गरी सात उमेर समूहका ३५ विधामा प्रतिस्पर्धा हुनेछ।

करिब तीन सय खेलाडीको सहभागिता रहने प्रतियोगिताका लागि नौ लाख ५० हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ। यस्तै आयोजकले च्याम्पियनसिपको उत्कृष्ट खेलाडीलाई राष्ट्रिय टोलीको तयारीमा समावेश गराउने बताएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *