विद्यालय तहका बालबालिकामा मनोसामाजिक समस्या बढ्दै

सामाजिक सञ्जालको अत्यधिक प्रयोगका कारण विद्यालय तहका बालबालिकामा मनोसामाजिक समस्या बढ्दै गएको छ।

कोभिड-१९ को महामारीको समयमा इन्टरनेटको प्रयोगबाट पठनपाठन सञ्चालन गर्ने गरिएको र त्यसयता सामाजिक सञ्जालको प्रयोगमा लत बस्दै गएकाले त्यसको नकारात्मक असर बालबालिकाहरुमा देखिन थालेको विज्ञहरूले बताएका हुन्। शिक्षाविद् डाक्टर राजकुमार ढुंगानाले कोभिड-१९ पछि बालबालिकामा मोबाइल प्रयोगको लत बढेका कारण उनीहरूमा मनोसामाजिक समस्या देखिएको बताए।

सामाजिक सञ्जालमा आउने सकारात्मक र नकारात्मक कुराहरूको चयन गर्न नसक्नु तथा शिक्षाप्रति अभिभावक तथा विद्यालयको दबाब बढ्नुलगायतले पनि बालबालिकाहरू अनावश्यक दबाबमा पर्ने गरेको उनको भनाइ छ। विद्यालय तहका बालबालिकामा अध्ययनको रुचि घट्दै जानुले समग्र शिक्षा क्षेत्रमा डरलाग्दो खतराको संकेत गरेको उनले बताए। कोभिडपछि प्रविधिलाई उपयुक्त तरिकाले प्रयोग गर्ने सीपको कमीले समेत बालबालिकाको मानसिक स्वास्थ्यमा असर परेकाले त्यसबारे सबै सरोकारवाला गम्भीर हुनुपर्ने उनले बताए।

शिक्षाविद् ढुंगेलले विद्यालयस्तरबाटै बालबालिकाकालाई मनोसामाजिक परामर्श सेवा दिनुपर्नेमा जोड दिए। अभिभावकहरूले विद्यार्थीलाई उच्चतम अंक ल्याउन दबाब दिनु सामाजिक अपराध भएको उल्लेख गर्दै उनले त्यस्तो काम रोकिनु पर्ने बताए।

विश्व निकेतन माध्यामिक विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलले पनि कोभिड-१९ महामारीपछि विद्यार्थीमा इन्टरनेट प्रयोगको लत बसेको बताए। विद्यार्थीहरूमा एकोहोरो हुने, आक्रमक बन्ने, धेरै मोबाइल चलाउँदा आँखा रातो हुने, दुब्लो हुने तथा मानसिक स्वास्थ्यमा समेत समस्या देखिएपछि मनोसामाजिक परामर्श दिने गरिएको बताए।

चिकित्सकहरूले पनि इन्टरनेट प्रयोगका कारण बालबालिकाहरूमा अनिद्राको समस्या डरलाग्दो रूपमा देखिएको बताएका छन्। अल्का अस्पतालका नशा तथा मनोरोग विशेषज्ञ डा. प्रदीप पाण्डे सामाजिक सञ्जालमा हुने नकारात्मक कुराहरूका कारण बालबालिकाको रचनात्मक क्षमता घट्नुका साथै मनोसामाजिक समस्या देखा पर्न थालेको बताउँछन्। डा. पाण्डे मनोरोगको समस्यालाई बेलैमा पहिचान गरी निदानको उपाय अपनाउनुपर्नेमा जोड दिन्छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर