आज साँझसम्म मन्त्रिपरिषद विस्तार हुने

मन्त्रिपरिषद विस्तारलगायत विषयमा सत्ता साझेदार दलहरूबीच आज बिहान छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा आज साँझसम्म मन्त्रिपरिषद विस्तार गर्ने विषयमा शीर्ष नेताहरूबीच सहमति भएको जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृहजिल्ला चितवन गएकाले छलफल पुनः अपराह्न २ बजे हुने बताइएको छ । ‘जुन जुन दलको तर्फबाट मन्त्रिपरिषद्मा सहभागी हुने व्यक्तिको नाम टुङ्गो लागेको छ, उहाँहरू पुनः आउनुपरेन । जसको टुङ्गिएको छैन, उहाँहरूले पुनः संस्थागत रूपमा निर्णय गरेर आउने सहमति भएको छ,’ नेता श्रेष्ठले भने ।

प्रधानमन्त्री दाहालले नै अग्रसरता लिएर केही दलका तर्फबाट सरकारमा सहभागी हुनेको नाम करिब टुङ्गो लगाइदिएको जानकारी दिँदै नेता श्रेष्ठले सबै विषयमा मतैक्य भए आज साँझसम्म मन्त्रिपरिषद् विस्तार हुने बताए । ‘कुन दलले के कति मन्त्रालय लिने भन्नेबारे सहमति भएको छ । त्यसलाई संस्थागत रूपमा निर्णय गराैँ भनिएको हो,’ उनले भने ।

बुधबारको बैठकमा नै नेपाली कांग्रेसले आठ, नेकपा ( माओवादी केन्द्र)ले पाँच, नेकपा (एकीकृत समाजवादी) र जसपाले दुई/दुई मन्त्रालय लिने सहमति भइसकेको छ । अन्य दलले एक/एक मन्त्रालय लिने तय भएको छ । बैठकमा सत्ता साझेदार दलका शीर्ष नेताको सहभागिता थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *