सभामुखको अधिकार कुण्ठित गर्न खोजे संसद गतिहीन हुन्छ : महेश बर्तौला

नेकपा (एमाले) का सचेतक महेशकुमार बर्तौलाले प्रतिनिधि सभा नियमावलीमार्फत सभामुखको अधिकारलाई कुण्ठित गर्न खोजे संसदको प्रभावकारितामा गतिरोध उत्पन्न हुने बताएका छन्।

सचेतक बर्तौलाले प्रतिनिधि सभाका सभामुख सभाको नेता भएको भन्दै उनलाई सिंगो संसदले विश्वास गर्नुपर्ने बताएका हुन्।

उनले प्रतिनिधि सभा नियमावलीमा सांसदहरूले संशोधन प्रस्ताव दर्ता गराउनु उनीहरूको सार्वभौम अधिकारको कुरा भए पनि सबैले सभामुखप्रति विश्वास गर्नुपर्नेमा जोड दिए। मंगलबार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै उनले सभामुख सभाको रेफ्री भएको भन्दै रेफ्रीले कतिबेला सिट्ठी बजाउने भन्ने कुरा कतै भएको निर्णयबाट निर्देशित भएर गर्न नहुने बताए।

उनले सभामुखले कार्यव्यवस्था परामर्श समितिको निर्णयको आधारमा मात्रै सभा सञ्चालन गर्ने व्यवस्था भएमा संसदको प्रभावकारितामा गतिरोध उत्पन्न हुने बताए। उनले त्यसो भएमा संसदीय मूल्यमान्यता र गरिमा नरहने बताए।

सचेतक बर्तौलाले सभामुखले तटस्थ भूमिका निर्वाह गर्न नसकेमा त्यसको उपचार खोज्ने व्यवस्था नियमावलीमा नै रहेको उल्लेख गरे। नियमावली बनाउने सन्दर्भमा सत्तापक्ष र प्रतिपक्षको छायाँ पार्न नहुने उनले बताए।

उनले कार्यव्यवस्था परामर्श समितिको निर्णयको आधारमा मात्रै सभामुख अगाडि बढ्दा संसद गतिहीन हुन सक्ने र अवरोधहरूको जञ्जालमा पर्न सक्ने बताए।

उनले संसदमा नियमावली निर्माणको सन्दर्भमा विभाजित हुनु हुँदैन भन्ने निष्कर्ष राजनीतिक दलहरूको रहेको पनि उल्लेख गरे।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *